काठमाडौँ-परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत भ्रमणमा जाने हुनुभएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको नेतृत्वको प्रतिनिधिमण्डललाई आगामी भदौ २ देखि ६ गतेसम्म भारत भ्रमणका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सो कुराको जानकारी दिनुभयो। त्यस्तै, बैठकले आगामी असोज ५ देखि १४ गतेसम्म बेलायतमा हुने लोकसेवा आयोगको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रममा सहभागी हुन लोकसेवा आयोगका पदाधिकारीहरूलाई स्वीकृति दिने निर्णय पनि गरेको छ।
मन्त्री गुरुङले राजस्व न्यायाधिकरण पोखराको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश सुदर्शनराज पाण्डेलाई तोक्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो। उहाँले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता श्रीराम खनाललाई नेपाल कानुन व्यवसायी परिषद्को सचिव पदमा खटाउने निर्णय भएको बताउनुभयो । यससँगै मन्त्रिपरिषद् बैठकले अन्य १४ वटा निर्णय गरेको छ।




प्रतिक्रिया