अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मिडियाले जलवायु परिवर्तनका मुद्दालाई विशेष कभरेज गर्नुपर्छ: अध्यक्ष बस्नेत

मिडियाले जलवायु परिवर्तनका मुद्दालाई विशेष कभरेज गर्नुपर्छ: अध्यक्ष बस्नेत


न्यूयोर्क- प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले जलवायु परिवर्तनका मुद्दालाई मिडियाले विशेष कभरेज गर्नुपर्ने सुझाव राख्नु भएको छ।

पर्वते खेलकुद संघ (न्यूयोर्क अल्पाइन खेलकुद संघ) र साथसाथै फाउण्डेशनको संयुक्त आयोजनामा ‘हिमाल जोगाऔं, पृथ्वी बचाऔं’ विषयमा अमेरिकाको न्यूयोर्कमा सम्पन्न कार्यक्रममा अध्यक्ष बस्नेतले यस्तो धारणा राख्नुभएको हो।

‘जलवायु परिवर्तनको असर हाम्रा हिमालहरूमा प्रस्ट देखिन थालेका छन्। सेता, चम्किला हिमालहरू दिनप्रतिदिन काला पहाड हुँदै छन्,’ अध्यक्ष बस्नेतले भन्नुभयो, ‘यसबारे विश्वको ध्यान खिच्न मिडियाले कभरेज बढाउनै पर्छ।’

न्यूयोर्कको ज्याक्सन हाईट सिटीमा हालै भएको कार्यक्रममा सञ्चारकर्मी, पर्वतारोहीसहितको सहभागिता थियो।

कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष बस्नेत, वरिष्ठ पत्रकार बबिता बस्नेत, नेपाल पत्रकार महासंघकी उपाध्यक्ष नीतु पण्डित, नेपाल टेलिभिजनकी पत्रकार अनिता बिन्दु, रेडियो कान्तिपुरकी सञ्चारकर्मी कमला पन्थी, मदन पुरस्कार विजेता साहित्यकार तथा लेखक नीलम कार्की निहारिका, साथै संस्थाकी प्रमुख प्रजिता कार्की लगायत नेपालबाट आउनुभएका विशिष्ट व्यक्तित्वहरूलाई पर्वतीय खेलकुद संघ न्यूयोर्कका सल्लाहकार तथा शेर्पा किदुगका अध्यक्ष तेम्बा शेर्पाले हार्दिक स्वागत गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन गर्दै संघका महासचिव सन्जोग आचार्यले मिडियाले उठाउनुपर्ने नयाँ विषयमा अन्तरक्रिया गर्न पाउँदा खुशी ब्यक्त गर्नुभएको थियो। सो अवसरमा अतिथि वक्ताहरुले पृथ्वीको वातावरणीय सन्तुलन कायम राख्न तथा नेपालका हिमालको संरक्षण गर्न आवश्यक पहलका विषयमा आफ्ना विचार व्यक्त गर्नुभयो।

साथसाथै संस्थाकी अध्यक्ष प्रजिता कार्कीले नेपालमा दिगो पर्यटन विकास तथा हिमाली क्षेत्रको प्रवर्द्धनका लागि समुदायस्तरबाट कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा आफ्ना महत्वपूर्ण धारणा प्रस्तुत गर्नुभएको थियो। उहाँले नेपालका हिमालहरू विश्व सम्पदाका धरोहर भएकाले तिनको संरक्षण र प्रवर्द्धनमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो।

अग्रज पत्रकार बबिता बस्नेतले नेपालका हिमालहरू जलवायु परिवर्तनका कारण संकटमा परिरहेको भन्दै, तिनको दीर्घकालीन संरक्षणका लागि अन्तर्राष्ट्रिय स्तरबाट समेत पहल गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले यस्ता गहन विषयमा जनस्तरमा पुगी काम गर्दै आएकोमा साथसाथै सँस्थालाई धन्यवाद समेत दिनु भयो।

सहभागीहरुले नेपालमा पर्यटन प्रवर्द्धन गरी स्थानीय समुदायको आर्थिक उन्नति र हिमाली क्षेत्रको दीर्घकालीन संरक्षणमा सबै पक्षले एकजुट भएर काम गर्नुपर्ने आवश्यकता औंल्याएको थिए। नेपालका हिमालहरू हाम्रो सम्पदा मात्र नभई पृथ्वीको पर्यावरण सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले तिनको संरक्षण हाम्रो सामूहिक जिम्मेवारी हो भन्ने सन्देश उक्त कार्यक्रमले प्रवाह गरेको सहभागीहरूले बताए।