काठमाडौँ-प्रहरी महानिरीक्षक (आइजीपी) वसन्तबहादुर कुँवरसहित नौ जना उच्च प्रहरी अधिकारी आज (सोमबार) देखि एकसाथ सेवा निवृत्त हुँदैछन्। २०७९ चैत १० गते आईजीपी नियुक्त भएका कुँवर ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जान लागेका हुन्।
कुँवरसँगै एआईजीहरू टेक प्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई पनि एकसाथ अवकाशमा जाँदैछन् । उनीहरूकै ब्याचमेट डीआईजीहरु गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि आजैदेखि अवकाश हुन लागेका छन् ।
टेकप्रसाद राई कुँवरसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भएर आईजीपीको प्रतिस्पर्धामा थिए । सो ब्याचका श्यामलाल ज्ञवाली र किरण बज्राचार्यले यसअघि नै अवकाश पाइसकेका छन्। जनक भट्टराई केही दिनअघि मात्र एआईजीमा बढुवा भएका हुन्।
अवकाशमा जान लागेका डीआईजी गणेश चन्द सुदूरपश्चिम प्रदेशको प्रमुख छन्। भोला रावल गण्डकी प्रदेशको प्रमुख छन् । रावल आइतबार नै गण्डकी प्रदेश प्रहरी कार्यालयबाट बिदा भएर काठमाडौँ आएका छन्। कुँवरसहितका उच्च अधिकारीहरु अवकास भएसँगै अब प्रहरीमा उनीहरुकै वैकल्पिक टोलीले कमाण्ड गर्ने भएको छ।
को आउँलन् नयाँ आईजीपी ?
कुँवरको अवकाशसँगै नेपाल प्रहरीको ३१ औ आईजीपी को होलान् भन्नेबारे चासोको विषय बनेको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले कुँवरलाई वरियताको आधारमा आईजीपी नियुक्त गरेको थियो। कुँवर वरीयता सूचीको १ नम्बरमा थिए। नयाँ प्रहरी ऐन आउन ढिला हुने र ३० वर्षे नहट्ने भएसँगै आईजीपी कुँवरलाई सोमबार प्रहरी प्रधान कार्यालयबाट बिदाइ कार्यक्रम राखिएको छ।
आईजीपीको नियुक्तिबारे निर्णय गर्न सोमबार नै मन्त्रिपरिषद् बैठक बस्ने बताइएको छ । प्रहरीको ३१ औं आईजीपी बन्न तीन जना अतिरिक्त महानिरीक्षकहरू प्रतिस्पर्धामा छन् । प्रहरी अतिरिक्त महानिरीक्षकहरू दीपक थापा, सुदिप गिरी र टेकबहादुर तामाङ आईजीपीको प्रतिस्पर्धी हुन् । थापा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख हुन् । गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन् ।
२०५२ भदै १९ गते प्रहरी सेवामा प्रवेश गरेका उनीहरूमध्ये दीपक थापा २०७९ चैत ६ मा वसन्त कुँवरसँगै एआईजीमा बढुवा भएका थिए । पछि कुँवर आईजीपी भए । सुदीप गिरी र टेकबहादुर तामाङ २०७९ चैत २४ मा एआईजीमा बढुवा भएका हुन् । उनीहरू १८ दिन ढिला बढुवा भएका थिए । वरीयता सूची अनुसार पहिलो नम्बरमा थापा, दोस्रोमा गिरी र तेस्रोमा तामाङ छन् ।







प्रतिक्रिया