अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परराष्ट्रमन्त्रीद्वारा फिलिपिन्स र जर्जियाका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा फिलिपिन्स र जर्जियाका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता


काठमाडौँ-परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले जर्जियाकी विदेशमन्त्री माका बोचोरिसभिली र फिलिपिन्सका विदेशमन्त्री एनरिक ए।मनालोसँग आज नयाँ दिल्लीमा छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नुभएको छ।

भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहनुभएका उहाँहरुबीच आज बिहान सो भेटवार्ता भएको हो। ती भेटका क्रममा आपसी हित र द्विपक्षीय चासोका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ। 

त्यस भेटका अवसरमा मन्त्री डा.राणाले जर्जियाकी विदेशमन्त्री बोचोरिसभिलीसँग नेपालले आगामी सन् २०२७ देखि २०२९ सम्म संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा उम्मेदवारी दिएकाले सहयोगका लागि आग्रह गर्नुभयो। 

साथै मन्त्री डा राणाले कृषि, जलविद्युत्, पूर्वाधार निर्माण, पर्यटन क्षेत्रको विकासका नेपाल र जर्जियाबीच संयुक्त लगानी तथा साझेदारी गर्न सकिने सम्भावनाका विषयमा पनि कुराकानी गर्नुभएको थियो। साथै नेपालले पछिल्लो समयमा जलवायु परिवर्तनका कारण उत्पन्न अकल्पनीय समस्याहरुको सामना गरिरहेको जानकारी दिँदै नेपालले जलवायु न्यायका लागि अन्तरराष्ट्रिय मञ्चहरुमा उठाउँदै आएका आवाजमा जर्जियाको पनि साथ र सहयोग अपेक्षित रहेको मन्त्री डा राणाले बताउनुभएको थियो। 

त्यसैगरी मन्त्री डा राणाले फिलिपिन्सका विदेशमन्त्री एनरिक ए मनालोसँग नेपाल र फिलिपिन्स जलवायु परिवर्तनका कारण उत्तिकै समस्यामा परेकाले  यसको असर कम गर्नका लागि आगामी दिनमा मिलेर काम गर्न सकिने बताउनुभएको थियो। फिलिपिन्स र नेपालका बीचको आपसी सम्बन्धका साथै आर्थिक साझेदारी र सामूहिक सहकार्यका विषयमा सो भेटका अवसरमा कुराकानी भएको थियो।