अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालमा लगानी गर्न जापानी लगानीकर्तालाई मन्त्री दाहालको आग्रह

नेपालमा लगानी गर्न जापानी लगानीकर्तालाई मन्त्री दाहालको आग्रह


काठमाडौं-नेपालका लागि जापानी राजदूत माएदा तोरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द दाहालसँग शिष्टाचार भेट गर्नुभएको छ। मंगलबार मन्त्रालयमा उहाँहरुबीच भएको भेटमा द्विपक्षिय विभिन्न विषयमा कुराकानी भएको छ।

भेटमा मन्त्री दाहालले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको बताउनुभयो। मन्त्री दाहालले जापानका लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न थप प्रोत्साहन गर्न आग्रह गर्दै नेपाल उनीहरूको लगानीको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनुभयो।

आगामी वर्ष २०२६ कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव रहेको र त्यही वर्ष नेपाल अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने मन्त्री दाहालले उल्लेख गर्नुभयो।

मानव संसाधन विकासमा जापानले सन् २०१६ देखि जापान विकास छात्रवृत्ति (जेडिएस) योजना अन्तर्गत विभिन्न क्षेत्रमा नेपालका सरकारी अधिकारीहरुलाई वार्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ। जापान कोलम्बो योजनामा सामेल भएदेखि जापान सरकारले नेपाली विद्यार्थीहरुलाई प्राविधिक तालिम दिन थालेको छ। त्यस प्रकारका सहयोगका लागि मन्त्री दाहालले जापान सरकारलाई आभार प्रकट गर्नुभयो।

नागढुंगा सुरुङमार्गको सुरुवातसँगै सडक पूर्वाधारको विकासमा सुरुङ प्रविधिको सुरुवात गर्ने नेपालको प्रमुख कार्यक्रममा जापान नजिकको विकास साझेदार भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो।