काठमाडौँ-राष्ट्रिय समाचार समिति (रासस)को महाप्रबन्धकमा पाँचथरका सन्दीप राई नियुक्त हुनुभएको छ। लामो समयदेखि पत्रकारिता र मानवअधिकारका क्षेत्रमा सक्रिय राई विसं २०४२ असार २४ गते पाँचथर, फालेलुङ गाउँपालिका-३ मा जन्मनुभएको हो।
मन्त्रिपरिषद्को २०८२ साउन २६ गतेको बैठकले राईलाई राससको महाप्रबन्धक पदमा नियुक्त गरेको थियो। नेपाल सरकारको नीति अनुसार खुला प्रतिस्पर्धाको आधारमा उहाँ महाप्रबन्धक पदमा नियुक्त हुनुभएको हो।

नेकपा एमाले निकट प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहनुभएका राई विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न हुनुहुन्छ। महाप्रबन्धक राईसँग मोफसल र काठमाडौँमा विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ। तत्कालीन भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधिमन्त्री वसन्तकुमार नेम्वाङको प्रेस संयोजकसमेत रहनुभएका राईसँग विभिन्न पत्रपत्रिका, रेडियो र अनलाइनमा काम गरिसक्नुभएको छ।
महाप्रवन्धक राई पूर्वाञ्चल विश्वविद्यालयबाट आम सञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर हुनुहुन्छ। उहाँले त्रिभुवन विश्वविद्यालयबाट बिएड गर्नुभएको छ। अध्ययन, अनुसन्धानमा रुचि राख्ने महाप्रबन्धक राईले अन्तरराष्ट्रिय विश्वविद्यालयहरुमा कार्यपत्र समेत प्रस्तुत गर्नुभएका राईले ख्यातिप्राप्त विभिन्न निकायबाट तालिम र अनुभव हासिल गर्नुभएको छ।
उहाँको पत्रकारितासँगै मानवअधिकारको क्षेत्रमा पनि लामो अनुभव छ। साहित्य लेखनमा रुचिराख्ने उहाँका साहित्यसम्बन्धी पुस्तक प्रकाशित छन्। गोरखापत्र दैनिक, नागरिक दैनिकलगायत राष्ट्रिय सञ्चारमाध्यममा उहाँका लेख रचना प्रकाशित छन्।







प्रतिक्रिया