काठमाडौँ-काठमाडौँ महानगरपालिकाले आज ‘काठमाडौँ जलवायु कार्य सप्ताह-२०८३’ सुरु गर्दैछ।
केही हप्ताअघि मात्रै ‘काठमाडौँ फिल्म फेस्टिभल’ सम्पन्न गरेको काठमाडौँ महानगरपालिकाले आजदेखि ‘काठमाडौँ जलवायु कार्य सप्ताह-२०८३’ सञ्चालन गर्न लागेको हो।
स्थानीय तहमा जलवायु परिवर्तनको असर घटाउन तथा अनुकूलन प्रयासका लागि ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ सुरु गर्न लागिएको काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले जानकारी दिइन्।
‘जलवायु परिवर्तनको प्रभावबारे हामी सबै भुक्तभोगी छौँ। त्यसबाट हामी कुनै न कुनै हिसाबले प्रभावित छौँ,’ काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर डंगोलले भनिन्, ‘हामीले फेर्ने श्वासदेखि पिउने पानी अनि हामी बस्ने सहरसम्म जलवायुबाट प्रभावित छ।’
उनले त्यसको नकरात्मक असर सबैको जीवनमा परिरहेको भन्दै अब पनि गरौँला हेरौँला भनेर बस्ने समय नभएकाले कार्यमै जानुपर्छ भनेर जलवायु कार्य सप्ताहको आयोजना गरेको जानकारी दिइन्।
‘हामीले गर्नुपर्ने कार्यलाई पछाडि धकेल्नु हुँदैन, गरौँला हेरौँला भन्ने फुर्सद हामीसँग छैन। त्यसैले हामीले काम नै गर्नुपर्छ भनेर ‘कार्य सप्ताह’ भनेको हो,’ उनले भनिन्, ‘यसको अर्थ हेरौँला गरौँला होइन, काम नै गरौँ भन्ने हो। यो एक हप्ताको कार्यक्रममा काठमाडौँ महानगरपालिकाले केही न केही नयाँ कार्यको थालनी गर्दै छ।’
कार्यवाहक मेयर डंगोलले आज विभिन्न पालिकाका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षले आफ्नो सहरमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि गरिहेका प्रयास र पहलहरु मात्रै होइन, त्यसबाट को को र कसरी प्रभावित छन् भनेर अनुभव सुनाउने कार्यक्रम रहेको जानकारी दिइन्।
‘पहिलो दिन अर्थात आज भोटेकोसी बाढी प्रभावित जिल्लाका पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षका कुरा सुन्छौँ। त्योसँगै हामी उद्घाटनकै दिन राष्ट्रिय सभागृहबाट ‘रिचार्ज काठमाडौँँ अभियान’को थालनी गर्छौं,’ उनले भनिन्, ‘ काठमाडौँँ महानगरपालिका भरिका विद्यालहयरूमा कहाँ कहाँ रिचार्ज गर्न सकिन्छ भनेर हामीले अनुसन्धान गरिसकेका छौँ। त्यहि अनुसार अघि बढ्छौँ।’
दोस्रो दिन ‘जलवायु वित्त’ बारे विज्ञहरूसँग विचार मन्थनको कार्यक्रम रहेको उनले जानकारी दिइन्।
दोस्रो दिनको कार्यक्रममा जलवायु अनुकूलन तथा उत्थानशील पूर्वाधार निर्माणका लागि अन्तर्राष्ट्रिय जलवायु कोष, हरित नगर ऋण पत्र, सरकारी वित्तीय स्रोत तथा निजी क्षेत्रको लगानी परिचालनका विषयमा छलफल गर्ने कार्यक्रम छ।
तेस्रो दिन ‘नागरिक विज्ञान तथा सम्पदा र जलवायु परिवर्तनका असर’ विषयमा केन्द्रित भएर मनथन गर्ने जानकारी कार्यवाहक मेयर डंगोलले दिइन्।
‘परम्परागत हिटी प्रणालीको संरक्षणका बारेमा हामी तेस्रो दिन विचार विमर्श गर्छौ,’ उनले भनिन्, ‘ऐतिहासिक सम्पदा क्षेत्रको पदयात्रा, भूमिगत जल पुनःभरण तथा पानीको गुणस्तर परीक्षण सम्बन्धी प्रदर्शन सम्पदा, जलवायु परिवर्तन र सामुदायिक ज्ञानका विषयमा विज्ञ, अनुसन्धानकर्ता युवा तथा स्थानीय समुदायबिच विमर्श पनि तेस्रो दिन रहेको छ।’
उनले चौथो दिन ‘ऊर्जा प्रणाली र जलवायु परिवर्तन’ विषयमा मनथन गरिने जानकारी दिइन्।
‘चौथो दिन स्वच्छ ऊर्जा, विद्युतीय सवारी साधनको प्रयोग, ऊर्जा भण्डारण प्रविधि तथा फोहरमैला व्यवस्थापनका विषयमा समानान्तर सत्र सञ्चालन हुनेछ,’ उनले भनिन्, ‘त्यही दिन टेकुमा रहेको बायो ग्यास प्लान्टको उद्घाटन गर्ने तथा सफा टेम्पो र विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्धन गर्नेसम्बन्धी सत्रहरू सञ्चालन हुनेछन्।’
पाँचौँ दिन ‘बालबालिका तथा युवा जलवायु कार्य दिवस’ का रूपमा मनाउने जानकारी उनले दिइन्।
उनका अनुसार पाँचौँ दिन ५० वटा भन्दा बढी विद्यालयमा एकैपटक फोहरको वर्गीकरण, विद्यालयको वातावरणीय अवस्था पहिचान, जलवायु खेल, वृक्षरोपण योजना तथा सिर्जनात्मक सचेतना तथा कार्यमूलक गतिविधि सञ्चालन गर्ने तयारी छ।
विद्यार्थीमार्फत प्रवर्धित नवीन प्रविधि, हरित आविष्कार तथा इको क्लबका गतिविधि प्रदर्शनीमा राखिने उनले बताइन्। जलवायु परिवर्तनका घटना र त्यसले भविष्यमा पर्नसक्ने जोखिमको सामना गर्न तयार हुने नवपुस्तालाई ध्यान दिई ‘जलवायुका लागि बालबालिका’ भिडिओ प्रतियोगिता आयोजना गरिने जानकारी उनले दिइन्।
‘हामीले त्यसका लागि काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ६ देखि १२ सम्म अध्ययन गरिरहेका बालबालिकालाई यसमा सहभागी हुन आह्वान गरेका छौँ,’ उनले भनिन्, ‘यो प्रतियोगिताका विजेतालाई ५० हजार रुपियाँसहित पुरस्कृत गरिनेछ।’
यस्तै दोस्रो हुनेलाई ३० हजार रुपियाँ, तेस्रो हुनेलाई २० हजार रुपियाँ र सान्वना स्थान हासिल गर्ने ७ जनालाई जनही १० हजार रुपियाँसहित पुरस्कार दिइने महानगरपालिकाले जानकारी दिएको छ।
यसरी स्थान हासिल गर्ने १० जनालाई ‘काठमाडौँ महानगरपालिकाका लागि जलवायु परिवर्तन सद्भावना दूत’को उपाधि प्रदान गरेर वर्षभरि नै जलवायुका लागि बालबालिकालाई सक्रिय बनाउने तयारी महानगरपालिकाले गरेको छ।
छैटौँ दिन ‘खाद्य प्रणाली र जलवायु परिवर्तन’ विषयमा र सातौँ तथा अन्तिम दिन ‘जलवायु परिवर्तनका असर घटाउन नागरिक समाज, गैरसरकारी संस्था तथा अन्तरसरकारी संस्थाको दायित्व’ विषयमा कार्यक्रम केन्द्रित हुने जानकारी उनले दिइन्।



प्रतिक्रिया