काठमाडौ- काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम घटेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज बिहान ५.४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.१ डिग्री सेल्सियसमा झरेको हो।
अझ यो सुरुवाती मापन हो। आजको वास्तविक एवं आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८.४५ बजे मापन गरिनेछ। त्यतिबेलासम्म काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ।
हिजो आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.३ डिग्री सेल्सियस थियो। यस हिसाबले अघिल्लो दिनको तुलनामा आज बिहान काठमाडौँ उपत्यकामा चिसो बढेको छ।
मौसमविद्का अनुसार राति आकाश बादलले ढाक्दा बिहान न्यूनतम तापक्रम बढ्छ भने रातभर आकाश खुला रहँदा घट्छ।
मौसम पूर्वानुमान महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम मापन गर्छ।
न्यूनतम बिहान ८.४५ बजे र अधिकतम तापक्रम साँझ ५.४५ बजे मापन गरिन्छ।
मौसमविद्का अनुसार न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको तापक्रम बताउँछ भने अधिकतम तापक्रमले दिनभरको तापक्रमको अवस्था जनाउँछ।
हाल दिनप्रतिदिन देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ।



प्रतिक्रिया