अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जोखिम न्यूनीकरणमा स्थानीय निकायको अगुवाई हुनेगरी कार्य अघि बढाएका छौँः गृहमन्त्री लेखक

जोखिम न्यूनीकरणमा स्थानीय निकायको अगुवाई हुनेगरी कार्य अघि बढाएका छौँः गृहमन्त्री लेखक


काठमाडौँ-गृहमन्त्री रमेश लेखकले जोखिम न्यूनीकरणमा स्थानीय निकायको अगुवाई हुनेगरी कार्य अघि बढाइएको बताउनुभएको छ।

विश्व मानवता दिवस-२०२५ का अवसरमा काठमाडौँमा आजदेखि सुरु भएको ‘नेपाल मानवीयता सम्मेलन’को उद्घाटन गर्दै गृहमन्त्री लेखकले नेपाल भौगोलिक अवस्थाकै कारण विपदको उच्च जोखिममा रहेको जानकारी दिँदै त्यसको व्यवस्थापनमा सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो। कानुन र नीति निर्माण गरेर साझेदारीमा आपत्कालीन अवस्थाको तयारीमा सरकार रहेको उहाँको भनाइ थियो।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘स्थानीय नेतृत्वलाई सक्षम बनाउने र समान साझेदारीलाई सुदृढ गराउनु अहिलेको आवश्यकता हो, मानवतावादी प्रणालीलाई सक्षम बनाउँदै क्षेत्रीय एकतालाई सुदृढ बनाउनुपर्छ।’

विपद व्यवस्थापनमा दीगो वित्तीय क्षमता विकास गर्न जरुरी रहेको उल्लेख गर्दै उहाँले क्षेत्रीय र अन्तरराष्ट्रिय अभ्यासलाई उपयोग गर्न जरुरी रहेको बताउनुभयो। विपदका घटनामा बढोत्तरी भइरहेकोतर्फ ध्यानाकर्षण गराउँदै गृहमन्त्री लेखकले श्रोत साधनको अभाव रहेको सन्दर्भमा विश्वमै विपद व्यवस्थापनका लागि रुपान्तरण जरुरी रहेको बताउनुभयो। आपतकालीन तयारीमा तीनै तहको लगानी बढ्दै गएको जानकारी गराउँदै गृहमन्त्री लेखकले सबै किसिमका विपदबाट घरबारविहीन नागरिकको अस्थायी र स्थायी आवासका लागि रु पाँच लाख ५० हजारसम्म क्षतिपूर्ति दिने व्यवस्था गरिएको बताउनुभयो।

कार्यक्रममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशप्रसाद भट्टले विपद व्यवस्थापनमा स्थानीय समुदायलाई सक्षम बनाउन जरुरी रहेको बताउनुभयो। उहाँले विपद्मा ८१ प्रतिशत मासिनको उद्धार स्थानीय निकायले गरेको र १८ प्रतिशत सुरक्षा निकायले गरेको पाइएको विवरण जानकारी गराउँदै यसले पनि स्थानीय समुदायलाई जति बलियो बनाउन सकिन्छ, त्यति नै उद्धार प्रभावकारी हुने बताउनुभयो।

विपदमा उत्कृष्ट मानवीय कार्य गर्नेलाई सम्मान तथा पुरस्कृतको थालनी गरिएको र अब भने मापदण्ड नै बनाएर अघि बढ्न लागिएको प्रमुख कार्यकारी अधिकृत भट्टले बताउनुभयो। उहाँले कुनै घटना हुँदा उद्धार गर्नेभन्दा रिल बनाउनेतर्फ मानिसहरु देखिएकाले मानवीयता हराउँदै गएको महसुस भएको उल्लेख गर्दै मानवीयता जगाउन जरुरी रहेको बताउनुभयो।

सम्मेलनमा एनसेटका अध्यक्ष डा आमोदमणि दीक्षित, एनसेटका कार्यकारी निर्देशक तथा सम्मेलनका संयोजक सूर्यनारायण श्रेष्ठ, डिपी नेटका अध्यक्ष राजु थापा, संयुक्त राष्ट्रसङ्घकी आवासीय संयोजक तथा मानवीय संयोजक हाना सिङ्गरलगायतले मानवीयता प्रवद्र्धनका लागि आवश्यक सहकार्यमा जोड दिनुभएको थियो।

सम्मेलनमा नेपाल, म्यान्मार, बङ्गलादेश र पाकिस्तानका मानवीय सहयोगको उत्कृष्ट कथा प्रस्तुत गरिँदै छ। यस्तै कार्यक्रममा नेपाल, इन्डोनेसिया, फिलिपिन्सलगायत देशका प्रतिनिधिमार्फत मानवीय उद्धार, सहयोग तथा स्थानीय समुदायको अगुवाईमा विपद व्यवस्थापनका विषयमा प्रस्तुतिकरण समेत रहेको आयोजक प्रतिनिधि तथा एनसेटका स्टक्चरल इन्जिनियर रविन चौलागाईँले जानकारी दिनुभयो।

नेपालमा विगत तीन वर्षदेखि विश्व मानवता दिवस मनाउन थालिएको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा सुरु भएको उक्त सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका विभिन्न १५ देशका साथै अष्ट्रेलिया तथा अमेरिकाका प्रतिनिधिहरुको सहभागिता रहेको छ।

–––