अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साझा प्रयासद्वारा जलवायु संकट सामना गर्न सभामुख घिमिरेको आह्वान

साझा प्रयासद्वारा जलवायु संकट सामना गर्न सभामुख घिमिरेको आह्वान


काठमाडौँ-सभामुख देवराज घिमिरेले जलवायु परिवर्तन, वायु प्रदूषण र जैविक विविधताको क्षयजस्ता साझा चुनौती कुनै एक देशले मात्र समाधान गर्न नसक्ने भएकाले सबै देशका साझा प्रयास अपरिहार्य भएको बताउनुभएको छ।

सोमबारदेखि यहाँ सुरु भएको दुई दिने हिन्दूकुश हिमालय संसदीय बैठकको आज समापन सत्रलाई सम्बोधन गर्दै उहाँले हिन्दूकुश हिमालय क्षेत्र पृथ्वीको ‘तेस्रो ध्रुव’का रूपमा चिनिने उल्लेख गर्नुभयो। यसक्षेत्रमा करिब २४ करोड जनसङ्ख्या बसोबास गर्ने तथा करिब दुई अर्ब मानिस यस क्षेत्रका प्राकृतिक स्रोतमा निर्भर रहेको उल्लेख गर्दै उहाँले यो पृथ्वीकै संवेदनशील भूभागमध्ये एक रहेको बताउनुभयो। सभामुख घिमिरेले वैश्विक तापक्रम वृद्धिको करिब दुगुना दरमा यस क्षेत्रमा तापक्रम बढिरहेकोले हिमताल पग्लनु, विध्वङ्सकारी बाढी आउनु, पानीको अभाव र सुक्खा बढ्नुजस्ता गम्भीर असर परेको बताउनुभयो।

उहाँले हालै भारत, पाकिस्तान, नेपाल र चीनको सीमाक्षेत्रमा आएको बाढी तथा नेपालको तराईमा परेको अनावृष्टि जस्ता घटनालाई उहाँले जलवायु सङ्कटका ताजा उदाहरण भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘हामी वैज्ञानिक वा इञ्जिनियर नभए पनि सांसदका हैसियतले जलवायु अनुकूलनका लागि बजेट पारित गर्न सक्छौँ, इकोसिस्टम जोगाउने कानुन बनाउन सक्छौँ, प्रदूषकलाई जवाफदेही बनाउन सक्छौँ र किसान तथा समुदायका पक्षमा आवाज उठाउन सक्छौँ। यी कार्य हामीले गर्नैपर्छ।’

कार्यक्रमको निष्कर्षस्वरूप सहभागी सांसदहरूले शीर्षकको साझा संकल्प घोषणा गरेको छ। संकल्पमा बैठकलाई नियमित आयोजना गर्ने, संस्थागत संरचना बनाउन सम्भावना खोज्ने, सांसदबीच अनुभव आदानप्रदानलाई निरन्तरता दिने र प्रभावकारी, समावेशी र जलवायु-सहनशील नीतिनिर्माणमा सांसदको भूमिका अभिवृद्धि गर्ने बुँदाहरू समावेश छन्।

सभामुख घिमिरेले यस उपलब्धिलाई भावी पुस्ताका सुरक्षित भविष्यका लागि ऐतिहासिक कदमको रूपमा चित्रण गर्दै सहभागितामूलक योगदानका लागि सबै प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सङ्घीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सक्रियता, प्राविधिक समिति, विषय विज्ञ, मोडरेटर, नेपाल सरकारका सम्बन्धित निकाय तथा इसिमोडको सहयोगप्रति आभार प्रकट गर्नुभयो।