अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महिलाकै सङ्घर्षले वर्तमान उपलब्धि हाँसिल भएको हो: परराष्ट्रमन्त्री देउवा

महिलाकै सङ्घर्षले वर्तमान उपलब्धि हाँसिल भएको हो: परराष्ट्रमन्त्री देउवा


काठमाडौँ-परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली महिलाहरुको आफ्नै सङ्घर्षले महिला अधिकार र सशक्तीकरणका क्षेत्रमा वर्तमान उपलब्धि हासिल भएको बताउनुभएको छ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घद्वारा आज यहाँ आयोजित ‘विगत वर्तमान र भविष्यमा नेपाल महिला सङ्घको भूमिका’ विषयक गोष्ठीको उहाँले महिला अधिकारका क्षेत्रमा धेरै उपलब्धि हाँसिल भएको बताउनुभएको हो। ‘महिलाले महत्वपूर्ण संवैधानिक अधिकार प्राप्त गरेका छन्। त्यो सबै नेपाली महिलाहरुले गरेको सङ्घर्षकै उपलब्धि हो’, उहाँले भन्नुभयो।

मन्त्री डा. राणाले नेपाली कांग्रेसकै महिला नेतृहरु मङ्गलादेवी सिंहदेखि लिएर शैलजा आचार्यसम्मका महिलाको योगदानको स्मरण गर्दै उहाँहरु र अरु महिला नेतृहरुको लामो सङ्घर्ष र बलिदानीपछि नेपाली महिला आन्दोलनले आजको उपलब्धि हासिल गर्न सकेको स्पष्ट पार्नुभयो।

उहाँले वर्तमान अवस्था पर्याप्त भने नरहेको र महिलाले अझै धेरै सङ्घर्ष गर्न बाँकी रहेको बताउनुभयो । उहाँले विसं २००७ को क्रान्तिदेखि गणतन्त्रको प्राप्तिसम्मका सबै आन्दोलनमा नेपाली महिलाको सक्रिय सहभागिता रही आएको स्मरण गर्नुभयो।

‘अग्रजहरुकै प्रेरणाबाट हामी महिला अधिकारको सङ्घर्षमा लाग्यौँ र वर्तमान संविधान र नेपालका विद्यमान कानुनमा महिला अधिकारबारे पहिलो पटक राम्रो व्यवस्था गर्ने वातावरण निर्माण गर्न सक्यौँ’, उहाँले भन्नुभयो। वर्तमान संविधानले नेपालको सङ्घीय तथा प्रदेश संसद्मा कम्तीमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चितता गर्नु सकारात्मक भएको उहाँको भनाइ थियो।  नेपाली कांग्रेसकी नेतृ डा राणाले यी उपलब्धिको रक्षा गर्दै यो कानुनी सुनिश्चिततालाई अर्थपूर्ण र व्यावहारिक बनाउन महिलाले नै सङ्घर्ष गर्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो।

महिला अधिकारको अहिलेको अवस्था त्यसै नआएको र वर्तमान संवैधानिक सुनिश्चितताका लागि संविधान लेख्ने बेलामा आफूहरुले निकै सङ्घर्ष गर्नुपरेको मन्त्री राणाले स्मरण गर्नुभयो। उहाँले महिलालाई राजनीतिमा सजिलो नरहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘हाम्रो समाजमा अहिले पनि पितृसत्तात्मक सोच हाबी नै छ। महिलालाई राजनीतिमा सजिलो छैन । त्यसैले महिलाका लागि महिला नै लाग्नुपर्छ, लड्नुपर्छ भनेर नै हामीले सबै दिदीबहिनीहरुलाई जागरुक गर्यौँ, सशक्त बनायौँ र अधिकारका लागि अघि बढ्न तयार पार्यौँ।’

उहाँले नेपालमा मात्र नभएर विश्वका अरु देशहरुमा महिलालाई राजनीति गर्न गाह्रो हुने गरेको अनुभव विश्वका नेतृहरुले सुनाउने गरेको बताउनुभयो।