काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह गर्नुभएको छ।
राष्ट्रपति पौडेलले जोर्डनका राजालाई मङ्गलबार एक पत्र पठाउँदै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीका लागि यथाशक्य पहल गरिदिन सो आग्रह गर्नुभएको हो। उहाँले पत्रमा यस प्रयोजनका लागि उहाँका जोर्डनी समकक्षीले चाल्नुहुने सबै मानवीय तथा कूटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च प्रशंसा र स्वागत गर्ने कुरा उल्लेख गर्नुभएको छ।
राष्ट्रपति पौडेललाई जोशीका आमा र बहिनीले राष्ट्रपति भवन शीतलनिवासमा आइतबार भेटेर रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो। सो अवसरमा राष्ट्रपति पौडेलले जोशीको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताउनुभएको थियो।






प्रतिक्रिया