काठमाडौँ-नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ। महासंघकी अध्यक्ष निर्मला शर्मा नेतृत्वको प्रतिनिधि मण्डलले बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष ज्ञापनपत्र बुझाउँदै अल्टिमेटम दिएका हुन्।

एक महिनादेखि अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम ठप्प पारेको भन्दै तत्काल सुरु गर्न माग गरेको हो।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा, अवरुद्ध दर्ता र नवीकरण कार्य सुरु नभए महासंघ आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ।
ज्ञापनपत्र बुझ्दै मन्त्री गुरुङले अनलाइन सञ्चारमाध्यमलाई परेका असहजता हटाउन अस्थायी व्यवस्था गरिने र नयाँ नियमावली पनि तत्काल ल्याइने आश्वासन दिनुभयाे।
मन्त्रालयकी सचिव राधिका अर्यालले पनि दर्ता र नवीकरण प्रक्रिया सहज बनाउन पहल गरिने जानकारी दिनुभयाे।
छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा संशोधन गरी अनलाइन सञ्चारमाध्यमको दर्ता–नवीकरण स्थानीय प्रशासनमार्फत गर्ने व्यवस्था भएपछि देशभर अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण र सञ्चालन अवरुद्ध भएको छ।
ज्ञापनपत्र बुझाउन महासंघका उपाध्यक्ष उमिद बागचन्द, सचिव सोनी शर्मा, प्रकाश धौलाकोटीलगायत केन्द्रीय सदस्यहरू उपस्थित थिए ।








प्रतिक्रिया