ललितपुर-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिबाट अधिकतम् लाभ लिन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक रहेको बताउनुभएको छ। त्यसका लागि नेपाल टेलिकमलाई फाइभजी नेटवर्कको व्यवस्थापन गर्न उहाँले निर्देशन दिनुभएको छ।
ललितपुरमा आज नेपाल टेलिकम (एनटिसी)ले आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी अन्तक्र्रियामा मन्त्री गुरुङले जनताको घरदैलोमा फोरजी नेटर्वकको पहुँच विस्तार गर्न आग्रह गर्नुभयो। उहाँले सरकारको डिजिटल फेर्मवर्क (डिएनएफ)को उद्देश्य पूरा गर्न, डिजिटल सुशासन विस्तार, जनताको सेवालाई छिटो र छरितो बनाउन, सुशासन कायम गर्न एनटिसीको नेवटर्क विस्तारले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
मन्त्री गुरुङले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसै वर्ष फाइभ जी नेटवर्क सुरु गर्ने वचन दिएको बताउँदै त्यसको तयारीमा लाग्न नेपाल टेलिकमको ध्यानार्कषण गराउनुभयो। ‘साउथ एसियामै फाइभ जी नेटवर्क प्रयोग भइसकेको छ, हामी भने निकै पछि परेका छौँ’, उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री र मबीच फाइभ जी नेटवर्क कार्यान्वयन गर्ने विषयमा सम्झौता भइसकेको छ।’
मन्त्री गुरुङले नेपाल टेलिकम जनताको अतिआवश्यक र महत्त्वपूर्ण सेवाप्रदायी संस्था भएकाले कार्यसम्पादनमा संवेदनशीलता अपनाउनुपर्ने सुझाव दिनुभयो। चालु आर्थिक वर्षमा कार्ययोजनाको लक्ष्य प्राप्तिका लागि सबैले इमान्दारीपूर्वक जिम्मेवारी बहन गर्न पनि उहाँले आग्रह गर्नुभयो।
कार्यक्रममा सञ्चार सचिव राधिका अर्यालले नेपाल टेलिकमले सतप्रतिशत लक्ष्य पूरा गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो। सहसचिव कोशहरि निरौलाले कार्यसम्पादनमा उब्जिएका समस्या समाधान गर्दै योजना सम्पन्न गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा एनटिसीका सात वटै प्रदेशका निर्देशकहरूले आ-आफ्ना भावी कार्ययोजनाको लक्ष्य पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको थियो।







प्रतिक्रिया