काठमाडौं-कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिनुभएकाे छ। नेपाली कांग्रेसबाट मन्त्री बनेका अधिकारीले आज पदबाट राजीनामा दिनुभएकाे हाे।
उहाँले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै राजीनामा दिएको बताउनुभएकाे छ।
मन्त्री अधिकारीले विज्ञप्तिमा भन्नुभएकाे छ, ‘हाम्रो छोराछोरी पुस्ताले मुलुकभित्र व्याप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रण विरुद्ध हामीलाई खबरदारी गरेका हुन्। लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार हो।’
धादिङ २ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अधिकारी गत असार ३१ गते कृषि तथा पशुपन्छी विकास मन्त्री बनेका थिए। उहाँले आफ्नो दलको लोकतान्त्रिक इतिहासप्रति गर्व रहेको र अहिंसा लोकतन्त्रको प्राण हो भन्ने सिद्धान्तमा प्रतिबद्ध रहेको पनि बताउनु भएकाे छ।
अन्तमा, उहाँले जनताको जीवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथि केही नहुने बताउँदै ‘हामीभन्दा माननीय र सम्माननीय हाम्रा सार्वभौम जनता हुन् भन्ने सामान्य चेतना हामी ‘नेता हौं’ भन्नेहरूमा विकास होस्’ भन्ने शुभकामना व्यक्त गर्नुभएकाे छ।







प्रतिक्रिया