काठमाडौँ-त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा २८ जनाको शवपरीक्षण (पोस्टमार्टम) सकिएको छ।
अस्पतालमा जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको हाल शवपरीक्षण कार्य भइरहेको छ। हालसम्म ४६ शवपरीक्षणका लागि अस्पताल ल्याइएको फरेन्सिक विभागका प्रमुख डा गोपाल चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार २३ शव आफन्तले बुझेर लगिसकेका छन्भने सात जनाको शव चिन्न नसकिने अवस्थामा रहेको छ। जसका लागि डिएनए परीक्षण आवश्यक हुन्छ। शव चिन्न नसक्ने अवस्थामा भने दाँत परीक्षण, फिङ्गरप्रिन्टबाट शवपरीक्षण गरिन्छ।
डा. चौधरीले भन्नुभयो, ‘शव गोली लागेको, जलेको र ब्लड इन्जुरी भएका छन्। पोस्टमार्टमका लागि पत्र आएकाको शवपरीक्षण गरिरहेका छौँ।’
यसैबीच नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले मृतकका आफन्त र घाइते भेट्न शिक्षण अस्पताल पुग्नुभएको छ। अस्पतालमा हाल २२ जना उपचाररत छन्।







प्रतिक्रिया