अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वराष्ट्रपति भण्डारीको नयाँ वर्षको शुभकामना : एमालेको चुनावी हार गम्भिर समिक्षाको विषय

पूर्वराष्ट्रपति भण्डारीको नयाँ वर्षको शुभकामना : एमालेको चुनावी हार गम्भिर समिक्षाको विषय


काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अघिल्लो निर्वाचनमा लोकप्रिय मतका आधारमा प्रथम स्थान हासिल गरेको नेकपा एमालेले यसपटक अपेक्षाअनुसारको परिणाम प्राप्त गर्न नसक्नु गम्भीर समीक्षाको विषय भएको बताएकी छन् ।
नयाँ वर्षको शुभकामना सन्देशमा भण्डारीले निर्वाचनको परिणामका कारणहरू खोज्ने क्रममा गरिने समीक्षासँगै पार्टीभित्रको एकता, अनुशासन र आपसी विश्वासलाई अझ सुदृढ बनाउनु अत्यन्त आवश्यक रहेको उल्लेख गरेकी छन् ।

उनले सन्देशमा भनेकी छन्, ‘नेकपा एमालेलगायत जनमतमा पछि परेका राजनीतिक दलहरूले निर्वाचन परिणामको गम्भीर एवम् वस्तुनिष्ठ समीक्षा गरी प्राप्त निष्कर्षहरूलाई आत्मसात गर्दै पार्टीका नेता तथा कार्यकर्ताहरू संयम, अनुशासन र दृढ आत्मविश्वासका साथ अघि बढ्नु आवश्यक छ ।’
उनले भनेकी छन्, ‘२०८२ भदौ २३ र २४ गतेको घटनाबाट उत्पन्न विशेष परिस्थितिमा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामले देशको राजनीतिक परिदृश्यमा निकै ठूलो फेरबदल ल्याएको छ । लामो इतिहास बोकेका स्थापित राजनीतिक दलहरूप्रति जनमतमा आएको परिवर्तन र नयाँ शक्तिहरूप्रति देखिएको आकर्षणलाई गम्भीर रूपमा लिनुपर्ने देखिएको छ ।’

उनले यस पटकको निर्वाचन परिणामले मुलुकमा लोकतन्त्र स्थापनाका लागि दशकौँ लडेका पुराना दलहरूलाई आफ्नो संगठन, कार्यशैली र जनतासँगको सम्बन्धमा सुधार गर्नुपर्ने स्पष्ट संकेत गरेको बताएकी छन् । जनताको भावना, अपेक्षा र असन्तुष्टिलाई गम्भीरतापूर्वक आत्मसात गर्दै जनमुखी कार्यक्रम एवम् कार्यशैलीलाई प्राथमिकतामा राख्नु अहिलेको अपरिहार्य आवश्यकता भएकोमा उनको जाड छ । उनले नयाँ पुस्ताको सक्रिय सहभागिता, नवीन सोच र प्रविधिको प्रभावकारी प्रयोगमार्फत पार्टीलाई समयानुकूल रूपान्तरण गर्नु पनि उत्तिकै जरुरी भएको बताएकी छन् ।

चुनौतीपूर्ण घडीमा वस्तुनिष्ठ दृष्टिकोण अपनाउँदै अझ बढी समर्पण, व्यापक एकता र सकारात्मक सोचका साथ पुनः जनताको विश्वास जित्ने दृढ संकल्पसहित अघि बढ्न सबैमा हार्दिक आह्वान गर्दै उनले भनेकी छन्, ‘नयाँ वर्ष २०८३ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नयाँ वर्षले विगतका कतिपय असमझदारी, निराशा र अवरोधहरूलाई चिर्दै व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय जीवनलाई समुन्नत बनाउने दिशामा अघि बढ्न हामी सबैमा नयाँ ऊर्जा, आशा र उत्साह सञ्चार गरोस् भन्ने कामना गर्दछु ।’