अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न- संसदमा तपाईंको आवाज सुन्न पाएका छैनौँ ?

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न- संसदमा तपाईंको आवाज सुन्न पाएका छैनौँ ?


काठमाडौं-जेन–जी अगुवा रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहमाथि प्रश्न उठाएकी छन्।

वैशाख २ गते बुधबार सामाजिक सञ्जालमार्फत बमले परिवर्तनलाई सम्बोधन गर्दै संसदमा बोल्नुपर्ने भए पनि त्यत्तिकै अधिवेशन सकाएको भन्दै प्रश्न उठाएकी हुन् ।

बमले संसदमार्फत राष्ट्रलाई सम्बोधन गर्नुपर्ने तर कर्तव्य पालना नगरेको भन्दै प्रधानमन्त्री शाहमाथि प्रश्न गरेकी छन्।

‘सम्माननीय प्रधानमन्त्रीज्यू, संसदको पहिलो अधिवेशनदेखि आजसम्म हामीले देशका प्रधानमन्त्रीको आवाज सुन्न पाएका छैनौँ। चुनाव जितिसकेपछि जनतालाई धन्यवाद दिन पनि तपाईंले बोल्नुपर्थ्यो । यो परिवर्तनलाई स्वीकार्दै जनतालाई सम्बोधन गर्नु तपाईंको जिम्मेवारी थियो। तर, तपाईंले संसदमा नबोली अधिवेशन सक्नु भयो,’ बमले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘हामी तपाईंको आवाज सुन्न चाहन्छौँ । ‘कुरा कम, काम बढी’ भन्ने धारणा तपाईंको व्यक्तिगत विश्वास होला, तर संसदमार्फत राष्ट्रलाई सम्बोधन गर्नु पनि तपाईंको कर्तव्य हो। लोकतान्त्रिक शासन व्यवस्थामा नेताको निजी स्वभाव वा शैलीभन्दा पनि लोकतान्त्रिक मूल्य–मान्यता र अभ्यासले राज्य शासन व्यवस्थालाई र जनतालाई सम्बोधन गरिनुपर्छ।’

जनतालाई आफ्ना समस्याहरूको प्राविधिक समाधान मात्रै होइन, नेतृत्वको मनोवैज्ञानिक साथ पनि चाहिने बमले बताएकी छन् । ‘यदि तपाईंले आफ्नै निजी शैलीमा शासन चलाउने सोच्नुभएको छ भने, पहिलो खुड्किलाबाटै फर्किनुस्, र पछिल्लो आमनिर्वाचनले दिएको यो उत्कृष्ट लोकतान्त्रिक अवसरलाई संकुचित सोच र सीमित शैलीमा प्रयोग गरेर उपलब्धि हासिल गर्न सकिन्छ भन्ने कुरालाई सच्याउनुस्,’ उनले लेखेकी छन्, ‘तपाईं सक्षम हुन सक्नुहुन्छ, सबल हुन सक्नुहुन्छ । तर, यससँगै बिर्सनै नहुने कुरा, तपाईं एक व्यक्तिका हिसाबले सीमित पनि हुनुहुन्छ । पुरानाहरूजस्तै आफूलाई असीमित ठान्ने भूल नदोहोर्‍याउनुहोला ।’

२०८२ चैत १३ मा प्रधानमन्त्री भएका बालेन्द्र शाहले आजको मितिससम्म न प्रधानमन्त्रीका रूपमा सम्बोधन गरेका छन् । न त संसदमा नै बोलेका छन् । बरु झण्डै दुईतिहाइ आएपछिको पहिलो संसदलाई समेत सम्बोधन नगरेपछि प्रधानमन्त्रीप्रति प्रश्न उठेको छ ।