अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय समिति सभापतिबारे निर्णय गर्न कांग्रेस, एमाले र नेकपाको संयुक्त बैठक

संसदीय समिति सभापतिबारे निर्णय गर्न कांग्रेस, एमाले र नेकपाको संयुक्त बैठक


काठमाडौं- प्रतिनिधि सभाअन्तर्गतका संसदीय समितिका सभापतिका लागि उम्मेदवार दिन वा नदिने भन्ने विषयमा निर्णय गर्न विपक्षी तीन दल छलफलमा जुटेका छन्। बिहीबार दिउँसो सिंहदरबारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू छलफलमा जुटेका हुन्।

बैठकमा नेपाली कांग्रेसबाट अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, एमालेबाट पद्या अर्याल, गुरु बराल, नेकपाबाट वर्षमान पुन र युवराज दुलाल लगायतका नेता सहभागी छन्। 

बैठकले संसदको सार्वजनिक लेखा समितिको सभापति चयनका लागि साझा उम्मेदवार उठाउने विषयमा निर्णय गर्ने जनाएको छ। लेखा समितिको सभापति प्रतिपक्षी दलले पाउने संसदीय परम्पराअनुसार साझा उम्मेदवारको खोजी भइरहेको उनीहरूले बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने प्रतिनिधि सभा अन्तर्गतका १० मध्ये नौ समितिको नेतृत्व आफैले राख्ने भएको छ। लेखा समितिको सभापति श्रम संस्कृति पार्टीलाई दिने विषयमा छलफल गरिरहेको छ। 

आज संसदीय समितिको सभापतिहरूमा मनोनयन दर्ता हुँदैछ। संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय छ।

मनोनयन दर्ताका दर्ता सिंहदरवारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुनेछ । आजै दिउँसो साढे ४ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ ।

संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् ।

राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यसअघि नै भइसकेको छ । प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त दुई वटा समिति सभापतिको निर्वाचन हुन बाँकी छ ।

गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो । सोही दिन सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकेका थिए ।