अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टी एकताबारे ओलीको स्पष्टोक्ति : नीति र नेतृत्व स्वीकार्नेसँग मात्र सम्भव

पार्टी एकताबारे ओलीको स्पष्टोक्ति : नीति र नेतृत्व स्वीकार्नेसँग मात्र सम्भव



काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायत पार्टीसँगको एकता र आफ्नो स्वास्थ्य अवस्थाबारे बोलेका छन्।

भक्तपुरको गुण्डुमा एमाले नेता विशाल भट्टराईसँगको भेटमा ओलीले पछिल्लो राजनीतिक चर्चा र पार्टीको भावी दिशाबारे चर्चा गरेका हुन्। भेटपछि नेता भट्टराईले सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीको भनाइ र स्वास्थ्य अवस्थाबारे जानकारी सार्वजनिक गरेका छन्।

जेनजी प्रकरणमा पक्राउ परेका ओली सर्वोच्च अदालतको आदेशपछि हाजिरी जमानीमा रिहा भएका हुन्। पक्राउ परेदेखि नै त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनी गत शनिबार पित्त थैलीको सफल शल्यक्रियापछि डिस्चार्ज भएका थिए।

आइतबार निवासको बाहिर बसिरहेको र हिँडेर घरभित्र पसेको देख्दा आफूलाई आश्चर्य लागेको भट्टराईले उल्लेख गरेका छन्। ओलीको उच्च मनोबलकै कारण प्रतिकूल स्वास्थ्य अवस्थामा पनि उनी सक्रिय देखिएको भट्टराईको भनाइ छ।

अध्यक्ष ओलीले नेकपाका संयोजक पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ लगायतका धेरै नेताहरू स्वास्थ्य लाभको कामना गर्न अस्पताल पुगे पनि पार्टी एकता सम्बन्धी कुनै कुरा नभएको जानकारी दिए। भट्टराईका अनुसार ओलीले पार्टी एकता कहिल्यै पनि हुँदैन वा जसरी पनि र जस्तोसुकै अवस्थामा पनि हुन्छ भन्ने दुवै गलत कुरा भएको स्पष्ट पारेका छन्।

ओलीले आजको सन्दर्भमा नेकपा (एमाले) को सिद्धान्त, नीति र कार्यक्रमलाई स्वीकार गर्ने शक्तिसँग मात्र एकता हुन सक्ने बताए। विगतको जस्तो सैद्धान्तिक, वैचारिक र सांगठनिक एकरूपता विनाको एकता सम्भव नहुने उनको भनाइ छ। एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनको नीति र नेतृत्वलाई स्वीकार गर्नेहरूसँग मात्र पार्टी एकता गर्न सकिने तर्क अध्यक्ष ओलीको छ।

साथै, पूर्ण स्वस्थ भएपछि पार्टीका नियमित गतिविधिमा फर्कने र देशव्यापी रूपमा कार्यकर्ता र जनतामा आशा जगाउने कार्यक्रम ल्याएर अघि बढ्ने जानकारी समेत उनले दिए। भेटमा ओलीले वर्तमान सरकारले आफूलाई गरेको धरपकड प्रतिशोधपूर्ण र पूर्वाग्रहपूर्ण रहेको कुरा दोहोर्‍याए। अदालतले छुटकारा दिए पनि सरकारले झुट्टा मुद्दा खडा गरेर जो कोहीलाई जुनसुकै बेला पक्राउ गर्न सक्ने ओलीको भनाइ छ।

आफूमाथि लागेका आरोपबारे ओलीले भनेका छन्, ‘मेरा हकमा हिजो लगाइएको प्रत्येक लाञ्छनाको छानबिन होस र एमालेलाई बदनाम गर्न हिजो उछालिएका प्रत्येक कुराको निष्पक्ष छानबिन गरियोस् र सत्य तथ्य बाहिर आओस्। यस्ता प्रत्येक मुद्दाको निष्पक्ष छानबिन भए हामी सामना गर्न तयार छौँ।’