काठमाडौँ-सचिवालय बैठकले गरेको निर्णय अनुमोदनसहित ९ बुँदे एजेन्डामाथि छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। केन्द्रीय कार्यालय वनस्थलीमा सोमबार दिउँसो सवा ४ बजेदेखि बैठक सुरु भएको हो।
बैठकमा छलफलको लागि ९ एजेन्डा तय भएको छ। संगठनात्मक, नीतिगत तथा विधानसम्बन्धी महत्त्वपूर्ण विषयहरूमा छलफल हुने प्रवक्ता मनिष झाले बताए। बैठकको मुख्य एजेन्डा केन्द्रीय समितिका पदाधिकारीहरूको मनोनयन र महाधिवेशन कार्यविधिको मस्यौदामाथिको छलफल हुने प्रवक्ता झाले जानकारी दिए । यसका साथै पार्टी विधानमा गर्नुपर्ने संशोधनका विषयमा पनि बैठकमा विमर्श हुने उनले बताए ।
गृहमन्त्री सुधन गुरुङको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसम्बद्ध कम्पनीमा साझेदारी भेटिएको छ। साे बारेमा पार्टीका सांसद तथा गृहमन्त्री सुधन गुरुङको व्यापारिक दीपक भट्टसँग व्यापारिक (सेयर) लगानी रहेको तथ्य बाहिरिएपछि त्यसबारे पनि छलफल हुने उनले बताए । ‘प्रश्न उठेपछि पार्टीले जवाफ दिनुपर्छ । गृहमन्त्रीको सम्बन्धबारे कति सत्य हो वा होइन, त्यसबारे केन्द्रीय समिति बैठकमा छलफल हुन्छ’, उनले भने ।
आइतबार बसेको सचिवालय बैठकले जिल्ला अधिवेशन मिति तय, समानुपातिक सांसदहरूको जिम्मेवारी, पार्टीको प्रवास विभाग प्रमुखमा सचिवालय सदस्य दीपक बोहराको नियुक्त लगायत निर्णय गरेको थियो ।
यी हुन् बैठकका एजेन्डा-
१. पार्टी गतिविधि ब्रिफिङ ।
२. केन्द्रीय सदस्यहरूको रिपोर्टिङ । (२० जना २ मिनेटका दरमा)
३. केन्द्रीय समिति पदाधिकारी मनोनयन सम्बन्धमा ।
४. महाधिवेशन कार्यविधि मस्यौदा सम्बन्धमा ।
५. विधान संशोधन सम्बन्धमा ।
६. स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आव्हान सम्बन्धमा ।
७. प्रवासमा रहेका नेपालीहरूलाई प्रवासबाटै मताधिकार दिने सम्बन्धमा ।
८. सचिवालयका निर्णय अनुमोदन सम्बन्धमा ।
९. विविध:
क. विभिन्न आयोग, निकाय, पदाधिकारीबाट प्राप्त पत्राचार सम्बन्धमा ।
ख. विषयगत विभागको योजना तयारी र नीति मन्थन सम्बन्धमा निर्देशन ।
ग. संसदीय दलको विधान संशोधन सम्बन्धमा ।






प्रतिक्रिया