अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले नेता बास्कोटाको दाबी: ‘रास्वपामा अब हाइज्याक हुन बाँकी’

एमाले नेता बास्कोटाको दाबी: ‘रास्वपामा अब हाइज्याक हुन बाँकी’


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको चुनावमा पराजित भएका भूपदेव शाहलाई महामन्त्री बनाएको छ। वैशाख ७ गते सोमबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले शाहलाई महामन्त्रीमा चयन गरेको हो। भूपदेव प्रधानमन्त्री बालेन शाहको विश्वासपात्र मानिन्छ। यसअघि केन्द्रीय सदस्य रहेका भूपदेव बालेन शाह काठमाडौँ महानगरपालिकाको मेयर हुँदा सचिवालयमा कार्यरत थिए। बालेनले पद सम्हालेका बेला उनी प्रमुख स्वकीय सचिवका रूपमा कार्यरत थिए र पछि रास्वपामा प्रवेश गर्दा पनि उनीसँगै सक्रिय रहेका थिए। फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा भूपदेव अछाम–२ बाट उम्मेदवार शाह पराजित भएका थिए। निर्वाचनपछि उनी सक्रिय राजनीतिक भूमिकामा देखिन सकेका थिएनन्। उनलाई अब रास्वपाले शीर्ष नेतृत्वमा स्थान दिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र नेतृत्व र संगठनात्मक संरचनामा भइरहेको सम्भावित फेरबदललाई लिएर नयाँ बहस चर्किएको छ। पार्टी स्रोतहरूका अनुसार काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह (बालेन) निकट मानिने भूपदेव शाहलाई पार्टीको महामन्त्री बनाउने तयारी भइरहेको छ।

भूपदेव शाह यसअघि काठमाडौँ महानगरपालिकामा बालेन शाहका प्रमुख स्वकीय सचिवका रूपमा काम गरिसकेका व्यक्ति हुन्। पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा उनी अछाम–२ बाट उम्मेदवार बनेका थिए तर चुनावमा पराजित भएका थिए। निर्वाचनपछि उनी सक्रिय राजनीतिक भूमिकामा देखिन सकेका थिएनन्।

बालेन शाहका सहयोगी भूपदेवमार्फत रास्वपा कब्जा गर्ने योजना बनेको भन्दै राजनीतिक वृत्तमा चर्चा र बहस सुरु भएको छ। यसै विषयमा,  नेकपा एमालेका नेता गोकुल बास्कोटाले रास्वपामा अब ‘फाइनल हाइज्याक’ हुन बाँकी रहेको दाबी गरेका छन्। यस अर्थमा गृहमन्त्री सुधन गुरुङलाई गम्भीर आरोप लागिरहेका बेला र प्रधानमन्त्री शाहनिकट भूपदेवलाई रास्वपाको महामन्त्री बनाइएको भोलिपल्ट एमाले नेता बास्कोटाले सामाजिक सञ्जालमार्फत रास्वपाविरुद्ध टिप्पणी गरेका हुन्।

पूर्वमन्त्रीसमेत रहेका बास्कोटाले आज बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘रास्वपामा अब फाइनल हाइज्याक हुन बाँकी जस्तो देखियो। यद्यपि त्यो उनीहरूको मामिला हो।’ तर नेता बास्कोटाले कुन कुरालाई लक्षित गरेका हुन् भन्ने कुनै स्पष्ट संकेत दिएका छैनन्। 

को हुन् भूपदेव शाह

अछामको सदरमुकाम रहेको मंगलसेन नगरपालिका-४ का भूपदेव प्रधानमन्त्री बालेन्द्र शाहलाई स्थापित बनाउन निर्णायक भूमिका खेलेका मुख्य व्यक्ति मानिन्छन्। भूपदेवका बुवा नृपबहादुर शाह २०४७ सालपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को राजनीतिमा सक्रिय भए। उनी दुई पटक राप्रपाको जिल्ला अध्यक्ष बनेका थिए। 

२०५५ सालपछि भूपदेवका बुवा नृपबहादुर कांग्रेसतिर लागेका थिए। राप्रपा छाडेर बुबाले कांग्रेस रोजे पनि भूपदेव भने वैकल्पिक राजनीतिको बाटोमा लागेका थिए।

बुवाले वैकल्पिक राजनीतिमा भविष्य नदेखे पनि भूपदेवले परम्परागत राजनीतिमा समाधान नदेखेर २०७१ सालमा उज्जवल थापा नेतृत्वको तत्कालीन विवेकशील दलमार्फत वैकल्पिक राजनीतिको औपचारिक यात्रा सुरु गरेका थिए।

मंगलसेन नगरपालिका-४ मा रहेको राधा माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरेका भूपदेवले मंगलसेनको दीपशिखा इङलिस बोर्डिङ स्कुलमा कक्षा ४ र ५ पढेका थिए। त्यसपछि पढाइका लागि काठमाडौँको एलायन्स एकेडेमीमा भर्ना भए। 

२०६३ सालमा काठमाडौँको एलायन्स एकेडेमीमा भूपदेव कक्षा ६ मा पढ्दा बालेन सोही विद्यालयमा कक्षा १० मा पढ्थे। उनीहरूको कक्षा फरक भए पनि अतिरिक्त क्रियाकलापले निकटता बढायो। सामाजिक अभियान र वैकल्पिक राजनीतिको खोजी बालेन र भूपदेवको साझा यात्रा बन्यो।

२०७९ सालको स्थानीय तह निर्वाचनमा बालेनले स्वतन्त्र राजनीतिक बाटो रोज्दा भूपदेव मुख्य सारथी बने। बालेन काठमाडौँ महानगरपालिकाको मेयरको यात्रामा भूपदेवले सक्रिय भूमिका निर्वाह गरे। काठमाडौँ महानगरको मेयर पदको निर्वाचन अभियान सञ्चालन र स्थानीयस्तरबाट आएका सुझावको प्रतिक्रिया विश्लेषण भूपदेवले गर्थे। 

बालेन मेयर बनेपछि भूपदेवलाई प्रमुख स्वकीय सचिवको जिम्मेवारी दिए। २०७९ जेठबाट २०८२ माघ ४ गतेसम्म प्रमुख स्वकीय सचिव बनेर सहयोग गरेका थिए।

बालेन झापा-५ बाट उम्मेदवार बन्दा भूपदेवले गृहजिल्ला अछाम-२ रोजे। उनी प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएका थिए। अहिले रास्वपाले उनलाई महामन्त्री चयन गरेको हो।