काठमाडौं-पूर्वमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावताका जनतालाई गरेको ‘राइट टु रिकल’ सम्बन्धी प्रतिबद्धतामाथि प्रश्न उठाएका छन्। किरातीले सामाजिक सञ्जालमार्फत ‘पार्टीको वाचापत्रमा उल्लेख भएको र निर्वाचनमा जनतालाई भनिएको राइट टु रिकल भनेको के हो ? अनि यो कसलाई लागू हुन्छ र कसलाई लागू हुँदैन ?’ भन्दै प्रश्न गरेका छन्।
किरातीले श्रम मन्त्री दीपककुमार साहलाई सास फेर्न पनि मौका नदिएर बर्खास्त गरियो तर गृहमन्त्री सुदन गुरुङको बारेमा के हुन्छ ? भन्दै जिज्ञासा व्यक्त गरे। उनले राजनीतिक निर्णयमा समानता, पारदर्शिता र नैतिकताको सवाल उठाउँदै छानबिनको आवश्यकता औंल्याएका छन्। यसअघि साहलाई श्रममन्त्रीबाट हटाएको र अहिले गृहमन्त्री गुरुङलाई ‘राइट टु रिकल’ लागू नभएकोमा अनुहार हेरेर विभेद गरिएको आरोप लगाएका छन्। किरातीले भनेका छन्, ‘मधेसी अनुहारका श्रममन्त्री माननीय दिपककुमार साहलाई सास फेर्न पनि मौका नदिई किन बर्खास्त गरियो? अनि माननीय गृहमन्त्री सुदन गुरुङको बारेमा यो आकर्षित हुन्छ कि हुँदैन?’
उनले व्यंग्यात्मक शैलीमा ‘एउटै कानुन जुँगा अनुसार लागू हुन्छ?’ भन्ने प्रश्न गर्दै दोहोरो मापदण्डको संकेत गरेका छन्। साथै, पुरानो र नयाँ राजनीतिक संस्कारबीच वास्तविक भिन्नता देखाउन व्यवहारमै पारदर्शिता आवश्यक रहेको उल्लेख गर्दै सम्बन्धित पक्षसँग स्पष्ट जवाफ माग गरेका छन्।
स्वास्थ्य बिमा बोर्डको सदस्यमा पत्नीलाई फर्काएको आरोप लागेपछि रास्वपाले साहलाई श्रममन्त्रीबाट हटाएको थियो। अहिले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दिपक भट्टसँग गृहमन्त्री गुरुङको व्यापारिक साझेदारी रहेको समाचार आएका छन्। त्यस्तै, शेयर खरिदमा पनि गृहमन्त्री गुरुङमाथि प्रश्न उठेका छन्। उनीबारे भने रास्वपाले केही बोलेको छैन। यसलाई लिएर पूर्वमन्त्री किरातीले प्रश्न गरेका हुन्।
यस्तो छ उनको स्टाटस:
रास्वपालाई मेरो प्रश्न !
पार्टीको वाचापत्रमा उल्लेख भएको र निर्वाचनमा जनतालाई भनिएको ‘राइट टु रिकल’ भनेको के हो? अनि यो कस-कसलाई लागू हुन्छ? कस-कसलाई लागु हुँदैन? लागू हुँदैन थियो भने मधेसी अनुहारका श्रम मन्त्री माननीय दिपक कुमार साहलाई सास फेर्न पनि मौका नदिईकिन बर्खास्त गरियो? अनि माननीय गृहमन्त्री सुदन गुरुङको बारेमा यो आकर्षित हुन्छ कि हुँदैन? के एउटै कानुन जुङ्गा अनुसार लागु हुन्छ? त्यसो भए गृहमन्त्रीको जुङ्गा कत्रो छ? कति क्षेत्रमा फैलिएको छ? र त्यसले कुन कुन सिमानाहरू नाघेको छ? र मान्छेले प्रश्न उठाए जस्तै कुन-कुन शक्तिसँग त्यो जुङ्गाको जरा जोडिएको छ? थप शङ्काको सुविधा प्राप्त नहोस् भनेर मैले रास्वपालाई यो प्रश्नहरू गरेको हुँ! किनकि ‘यो देश मेरो पनि हो’
गुरुङ जी, लौन गर्नुपऱ्यो छानविनको माग, देखाउन पऱ्यो संस्कार र संस्कार बोक्ने नैतिकवान् छाती नत्र त पुरानो र नयाँमा के भिन्नता?






प्रतिक्रिया