अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता


काठमाडौं-गृहमन्त्री सुधन गुरुङ र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच बुधबार नयाँदिल्लीमा भेटवार्ता भएको छ। गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन भारत पुगेका गुरुङ र जयशंकरबीच नेपाल–भारत द्विपक्षीय सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको हो।

भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत नेपाली गृहमन्त्री गुरुङसँग भेट भएको जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘नेपालका गृहमन्त्री सुधन गुरुङलाई भेटेर खुसी लाग्यो।’

भेटमा क्षेत्रीय सुरक्षा, सीमा व्यवस्थापन, अन्तर्देशीय अपराध नियन्त्रण तथा विपद् पूर्वतयारीमा सहकार्य सुदृढ गर्ने विषयमा छलफल भएको बताइएको छ। साथै, नेपालमा हालै आएको बाढी तथा पहिरोपछि भारतले उपलब्ध गराएको सहयोगका लागि गृहमन्त्री गुरुङले धन्यवाद व्यक्त गरेका छन्।

नेपालका प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणबारे चर्चा भइरहेका बेला भएको यस भेटलाई नेपाल–भारत सम्बन्धका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ। यद्यपि, भेटवार्तामा भएका छलफलका विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ सोमबार भारत पुगेका थिए। उनले मंगलबार भारतका गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गरेका थिए। तीनदिने भारत भ्रमण पूरा गरी गुरुङ बुधबार साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ।