काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का सभापति रवि लामिछाने भेट्न गृहमन्त्री सुधन गुरुङ बूढानीलकण्ठ पुगेका छन्। गृहमन्त्री गुरुङ सभापति लामिछानेलाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका हुन्।
विवादास्पद व्यवसायी दीपक भट्टसँग साझेदारी र लगानीका विषय सार्वजनिक भएपछि गृहमन्त्री गुरुङ विवादमा मुछिएका छन्। साेही विषयलाई लिएर गृहमन्त्रीमाथि चौतर्फी आलोचना भइरहेको छ। उनलाई नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने आवाज समेत उठिरहेको छ।
गृहमन्त्री गुरुङमाथि सार्वजनिक रूपमै प्रश्न उठेपछि पार्टी र सरकारले कुनै न कुनै रूपमा जवाफ दिनुपर्ने भन्दै चाैतर्फी आलाेचना भइरहेकाे छ ।
गुरुङले उक्त लघु बीमा कम्पनीमा रहेको सेयरबारे सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन्। उनले उक्त सेयर आफूले ऋणमार्फत लिएको बताएका छन्। तर, यस विषयलाई लिएर उनले सम्पत्ति विवरणमा जानकारी लुकाएको आरोपसमेत लागिरहेको छ, जसले विवादलाई थप चर्काएको छ।
२०८२ चैत १३ गते गृहमन्त्री नियुक्त भएका गुरुङ पछिल्लो समय सार्वजनिक रूपमा चर्को आलोचनाको सामना गरिरहेका छन्। यही दबाबका बीच उनी आफ्नो पार्टीका सभापति लामिछानेसँग छलफल गर्न बूढानीलकण्ठ पुगेका हुन्।






प्रतिक्रिया