काठमाडौँ-सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेलको योग्यता सम्बन्धी रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश दिएको हो। रिट निवेदकको माग बमोजिम किन आदेश जारी गर्न नपर्ने हो, त्यसको कारण पेश गर्नु भनिएको छ।
अधिवक्ताहरु माधवकुमार बस्नेत, दीपकराज जोशीसहित ४ जना र शिराज बरालले महान्यायाधिवक्ताको योग्यता माथि प्रश्न उठाउँदै बुधबार रिट दर्ता गरेका थिए ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले डा. कडेललाई २०८२ चैत २२ गते महान्यायाधिवक्तामा नियुक्त गरेका थिए। रिटमा कडेलको संवैधानिक योग्यतामाथि प्रश्न उठाइएको छ।
सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्तिलाई प्रधानमन्त्रीले महान्यायाधिवक्ता नियुक्त गर्न पाउने संवैधानिक व्यवस्था छ।
सर्वोच्च अदालतका न्यायाधीश सरहको महान्यायाधिवक्ताका लागि कम्तिमा १५ वर्ष निरन्तर वकालत गरेको हुनुपर्छ। तर महान्यायाधिवक्ता डा. कँडेलले निरन्तर वकालत गरेको अनुभव नभएको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो।
रिटमा महान्यायाधिवक्ताका लागि डा. कँडेल अयोग्य भएकाले उनको नियुक्ति खारेज गर्न आदेश माग गरिएको छ।







प्रतिक्रिया