अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यादेशप्रति रास्वपामै मतभेद, गणेश कार्की भन्छन्- यो संविधानको मर्म अनुसार छैन

अध्यादेशप्रति रास्वपामै मतभेद, गणेश कार्की भन्छन्- यो संविधानको मर्म अनुसार छैन


काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले संसद् छलेर दुईवटा अध्यादेश ल्याउने निर्णय गरेको छ।

चैत १४ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुईवटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। मन्त्रिपरिषद्ले संवैधानिक परिषद्सम्बन्धी र सहकारी समस्यासम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको हो। मन्त्रिपरिषद्को निर्णयअनुसार, दुवै अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष पेश भएका छन्। तर, राष्ट्रपति कार्यालयले भने अध्यादेश अध्ययनकै चरणमा रहेको जनाएको छ।

सो विषयमा बालेन नेतृत्वको सरकारले संसद् छलेर अध्यादेश ल्याउन लागेकोप्रति सत्तारुढ रास्वपाभित्रै मतभेद देखिएको छ। 

यसै सन्दर्भमा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै प्रतिनिधिसभा सदस्य गणेश कार्कीले झन्डै दुई तिहाईको सरकारले अध्यादेश ल्याउनु बहादुरी नभएको भन्दै असन्तुष्टि जनाएका छन्। 

‘झन्डै दुई तिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरू नै भन्ने पछि खुल्ला तर यो बहादुरी भने होइन’, बुधबार बिहान सामाजिक सञ्जालमासांसद कार्कीले लेखेका छन्, ‘मलाई प्रश्न गर्दै मेन्सन, म्यासेज गर्ने सबै साथीहरूप्रति मलाई गौरव छ। विधिको प्रश्न र जवाफदेहीताको अपेक्षाले मित्रताको मिठासलाई बेस्वादिलो बनाउँदैन भन्ने बुझेका सबैप्रति सम्मान र प्रेम छ।’

अध्यादेश सधैं संविधानले दिएको अधिकार र विधि प्रयोग गर्दै आउने बताउँदै सांसद कार्कीले संविधानको मर्मको भने पालना नभएको बताएका छन्।

‘यसपटक पनि अध्यादेशको सिफारिस संविधानको हुबहु अक्षरमा आधारित छ, संविधानको मर्ममा होइन’, उनले भनेका छन्, ‘संविधान अक्षरले बाँच्ने दस्तावेज होइन, मर्मको पालनाले जीवन्त रहने हो । संविधानका अक्षरले संविधानको मर्मलाई सीमित नगरोस् ।’

उनले हालका विपक्षी दलले यसअघि अध्यादेश ल्याउँदा आफूले प्रश्न उठाएको स्मरण गर्दै अहिले आफ्नै सरकार हुँदा पनि ती प्रश्नहरु उठाइरहेको बताएका छन्।