काठमाडौं-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका सबै एमाले सांसदहरूलाई छलफलका लागि गुन्डु डाकेका छन्। अध्यक्ष ओलीले सुदूरपश्चिमका ११ सांसदहरूसँग गुन्डुमा छलफल गर्ने भएका हुन्।
पछिल्लो समय संसदीय दलको नेता परिवर्तनको विषय उठेपछि अध्यक्ष ओलीले सामूहिक छलफलमार्फत निर्णय लिन लागेका हुन्। दलको नेता परिवर्तनको माग गर्दै तीन जना सांसदले केही समयअघि शीर्ष नेताहरूसँग परामर्श गरेका थिए ।
उपनेता सन्तोष शर्मा थापा र प्रमुख सचेतक चक्र मल्ल दलको नेतृत्वको दौडमा देखिएका छन्। बैठकमा नेतृत्व चयनसँगै सत्ता सहकार्य र मन्त्री हेरफेरको विषय पनि प्रमुख एजेन्डाका रूपमा रहने बताइएको छ।
अध्यक्ष ओलीले आवश्यक ठानेको अवस्थामा दलको नेता फेर्न सक्नेछन्, तर त्यसपछि कसलाई बनाउने भन्ने विषयमा भने सबै सांसदहरू एकमत छैनन्। उपनेता रहेकी सन्तोष शर्मा थापा आफू दलको नेता बन्नुपर्ने बताउँछिन् । उता प्रमुख सचेतक चक्र मल्ल पनि दलको नेताको दौडमा छन्।
सामाजिक विकास समितिका सभापति धर्म पाठक र भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल पनि नेतृत्वले जिम्मेवारी दिएको अवस्थामा दलको नेता बन्न पछि नपर्ने बताउँछन्। अहिले सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री छन्। केही सांसदहरूले कार्यकालको अन्तिम समयतिर रहेको भन्दै यसपटक मन्त्री हेरफेर गर्नुपर्ने विषय पनि उठाइरहेका छन्।







प्रतिक्रिया