अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘सरसफाइ सप्ताह’ सुरु, झाडु बोकेर वीर अस्पताल पुगिन् स्वास्थ्य मन्त्री

‘सरसफाइ सप्ताह’ सुरु, झाडु बोकेर वीर अस्पताल पुगिन् स्वास्थ्य मन्त्री


काठमाडौं-‘स्वच्छ प्रशासनको नयाँ संकल्प’ आजदेखि देशभर सुरु गरिएको ‘सरसफाइ सप्ताह’ शुभारम्भ भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेता वीर हस्पिटलमा सरसफाई कार्यक्रममा सरिक भएकी छन्। मन्त्री मेहेताले वीर अस्पतालमा अभियानको औपचारिक उद्घाटन गरिन्।

सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आजदेखि आगामी जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्न लागेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै सङ्घीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ। सरकारले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८३’ अनुसार न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाइ मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ। 

सरकारी कार्यालयहरूमा नियमित सरसफाइ र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह तथा कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो कदम चालिएको हो। मार्गदर्शनको पृष्ठभूमिमा ‘सरकारी निकायहरूमा स्वच्छ र सुरक्षित कार्य वातावरण कायम गर्न प्रभावकारी सरसफाइ व्यवस्थापन आवश्यक छ’ भनी उल्लेख गरिएको छ।

शौचालयहरूलाई दुर्गन्धरहित बनाउँदै नियमित पानीको व्यवस्था र हात धुने स्थानमा साबुन अनिवार्य गरिएको छ । शौचालयहरू महिलामैत्री र ‘स्यानिटरी डिस्पोजल’ सुविधायुक्त हुनुपर्ने तथा दैनिक सफाइको अभिलेख राख्नुपर्ने नियम बनाइएको छ ।