अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मदन-आश्रित स्मृति दिवस प्रभावकारी रूपमा मनाउन एमालेका कमिटीलाई केन्द्रको सर्कुलर

मदन-आश्रित स्मृति दिवस प्रभावकारी रूपमा मनाउन एमालेका कमिटीलाई केन्द्रको सर्कुलर


काठमाडौं-नेकपा एमालेले नेपाली कम्यूनिष्टका नविन विचारक मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको २०८३ जेठ ३ गते मनाइने स्मृति दिवश प्रभावकारी रुपमा मनाउन पार्टी केन्द्रले प्रदेश र जिल्ला कमिटीहरुलाई  सर्कुलर पठाएको छ। महासचिव शंकर पोखरेलले एक सर्कुलर पठाउँदै पार्टी विचार, योगदान र जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउन आफ्नो अनुकलतामा कार्यक्रम बनाउन विभिन्न जनसंगठनहरुलाई पनि तोकेरै निर्देशन पठाएका छन् ।

पार्टी केन्द्रीय कार्यलयबाट प्राप्त जानकारी अनुसार काठमाडौंमा मदन नगर बल्खुमा कार्यक्रम आयोजना २०८३ जेठ ३ गते बिहान ७.४५ बजे कार्यक्रम आयोजना गरिने भएको छ। उक्त कार्यक्रममा पार्टी केन्द्र, उपत्यका मातहतका कमिटी, जनसंगठनका काठमाडौंमा उपलब्ध सम्पूर्ण कार्यकर्तालाई अनिवार्य उपस्थित हुने भनिएको छ।

प्रदेश तथा जिल्लामा मदन आश्रितका योगदानको चर्चा  गर्ने, विचार गोष्ठी गर्ने, सञ्चार माध्यमहरुमा जनताको बहुदलीय जनवादका बारेमा परिसंवाद आयोजना गर्न एमालेले निर्देशन पठाएको छ। यस्तै वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, कैदीबन्दी भेट्ने, अस्पतालमा बिरामी भेट्ने तथा फलफूल वितरण गर्ने र मदन आश्रितका तस्विर सार्वजनिक स्थलमा सजाएर राख्न पनि निर्देशन दिएको छ।

महासचिव पोखरेलले पठाएको सर्कुलरमा उल्लेख भए अनुसार अनेरास्ववियूलाई हरेक माध्यमिक विद्यालय परिसर बाहिर मदन आश्रितलाई चिनाउने फोटो प्रदर्शनी,पर्चा र पम्पलेट प्रदर्शन गर्न भनिएको छ। युवा संघलाई हरेक पालिकामा मार्च पास गर्न भनिएको छ।

अनेम संघलाई हरेक घरका ज्येष्ठ महिलालाई भेट्न निर्देशन गरिएको छ। अखिल नेपाल किसान संघका कार्यकर्ताले आफ्नो बारी वा सार्वजनिक स्थलमा फलफूलका दुईवटा विरुवा रोप्न भनिएको छ। जिफन्ट र  भूमी अधिकार तथा श्रमिक संगठनले उपत्यका बाहिरका अव्यवस्थित बसोबासी, सुकुम्बासी र भूपू सैनिक तथा प्रहरी संगठनले भक्तपुरमा समन्वय गरी बिस्थापित सुकुम्बासीहरुलाई भेटी उनीहरुको अवस्था बुझ्न निर्देशन दिएको छ।

कार्यक्रमका सबै गतिविधि सञ्चार माध्यम तथा सामाजिक सञ्जाल मार्फत व्यापक रुपमा प्रचार प्रसार गर्न पनि सर्कुलरमा निर्देशन गरिएको छ। सर्कुलरमा आफूले गरेको कार्यक्रमको संक्षिप्त प्रतिवेदन जिल्ला कमिटी मार्फत केन्द्रीय कार्यलयमा पठाउन भनिएको छ।

एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको २०५० जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा परी मृत्यु भएको थियो। जिप दुर्घटना परी दुवै नेताको निधन भएको सम्झनामा हरेक वर्ष जेठ ३ गते देशभर विभिन्न कार्यक्रम गरी ‘मदन–आश्रित स्मृति दिवस’ मनाइन्छ।

मुख्यतः नेकपा एमाले पार्टीको केन्द्रीय कार्यालय र मातहतका कमिटीसहित भ्रातृ सङ्गठनले विभिन्न कार्यक्रम गरी मदन-आश्रितको सम्झनामा विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

विचार, वाकपटुतालगायत कारणले चर्चित नेता भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) विकास गरेका थिए ।