अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री नआएपछि कांग्रेसले बहिष्कार गर्‍यो राज्य व्यवस्था समिति बैठक

प्रधानमन्त्री नआएपछि कांग्रेसले बहिष्कार गर्‍यो राज्य व्यवस्था समिति बैठक


प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा लगातार दोस्रो पटक अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस असन्तुष्ट देखिएको छ।

गृहमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्रीसँग जवाफ माग गर्नुपर्ने भए पनि बैठकमा प्रधानमन्त्री अनुपस्थित रहेको कांग्रेसको भनाइ छ। तर,प्रधानमन्त्री बालेन बैठकमा लगातार नआएपछि कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति बैठक नै बहिष्कार गरेको छ।

समितिमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई, तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादव  छन्। उनीहरू साेमबार ११ बजे बाेलाएकाे बैठकमा अनुपस्थित रहेको संसदीय दल नेता आङ्देम्बेको सचिवालयले जनाएको छ।

कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले प्रधानमन्त्रीको अनुपस्थितिमा समितिको बैठकको औचित्य नै नरहेको टिप्पणी गरेका छन्।

उनले भने, ‘गृह मन्त्रालयसँग सम्बन्धित सुकुमबासी लगायत विषयमा जवाफ लिनु छ। गृहमन्त्रीको भूमिकामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नै हुनाले प्रधानमन्त्री आएर जवाफ दिनुहुन्छ भने हामी आउँछौँ। प्रधानमन्त्री नआउने हो भने औपचारिक रूपमा भेटिएर छलफल गरेर, परिचय गरेर, चिया खाएर हिँड्ने हिसाबले हाम्रो उपस्थिति रहँदैन भनेको हो। आज पनि यही कुरा दोहोर्‍याएर बैठकमा अनुपस्थित भयौँ।’

आङ्देम्बेले समिति सभापति हरि ढकाललाई प्रधानमन्त्री उपस्थित हुने भए बैठकको जानकारी दिन भनिएकाे पनि बताए। उनका अनुसार सभापति ढकाललाई प्रधानमन्त्री बालेनलाई समितिमा उपस्थित गराउन पटक–पटक आग्रह गरिएको भए पनि स्मरण गरे।  ‘प्रधानमन्त्री बिना अहिले समिति बैठक बस्नु औचित्यपूर्ण अर्थ छैन, हामीले उहाँसँग जवाफ माग्नु छ,’ आङ्देम्बेले स्पष्ट पारे।

प्रधानमन्त्रीको अनुपस्थितिका कारण समिति बैठक दोस्रो पटक प्रभावित भएको छ । यसले संसदीय समितिमा पनि सरकार–प्रतिपक्ष सम्बन्ध थप तनावपूर्ण बनेको देखिएको छ।