अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

४ कारण देखाउँदै हर्क साम्पाङले मागे प्रधानमन्त्री बालेनको राजीनामा

४ कारण देखाउँदै हर्क साम्पाङले मागे प्रधानमन्त्री बालेनको राजीनामा


काठमाडौँ-श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सङ्घीय सांसद हर्कराज राई (साम्पाङ)ले ४ वटा मुख्य कारण अघि सार्दै  प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। आज एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद साम्पाङले प्रधानमन्त्रीले संसदको अपमान गरेको र संसदीय परम्पराको बेवास्ता गरेको भन्दै पदबाट राजीनामा दिनुपर्ने माग गरेका हुन्।

सांसद हर्क साम्पाङले उठाएका ४ कारण यस्ता छन्-

१. राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री शाह हलबाट बाहिरिएको र पुनः सभामा नफर्किएको ।

२. प्रतिपक्षीले संसदमा उपस्थित हुन माग गर्दा संसद्‍मा नआई नजिकैको कार्यालयबाट ‘लाइभ’ हेरेर बसेको

३. नीति तथा कार्यक्रममा छलफल हुँदा अनुपस्थित रहनु र नीति तथा कार्यक्रम बारे उठेका प्रश्नहरुको उत्तर दिन प्रधानमन्त्री स्वयम् उपस्थित रहनु पर्ने संसदीय परम्पराको बेवास्ता गरेर बिना कुनै कारण अनुपस्थित भएको ।

४. प्रधानमन्त्री नियुक्त भएदेखि आजका मितिसम्म संसद्को कुनै पनि बैठकमा जनतालाई सम्बोधन नगरेको ।

सांसद साम्पाङले प्रधानमन्त्री शाहमाथि संसदीय अभ्यासको इतिहासमा ‘कालो धब्बा’ लगाएको र जनताको सार्वभौम सदनलाई बेवास्ता गरेको आरोप लगाएका छन्।

सांसद साम्पाङले प्रधानमन्त्रीलाई ‘असक्षम र असफल’को संज्ञा दिँदै प्रश्न गरेका छन्।

उनले भनेका छन्, ‘यो घटनाले संसदीय अभ्यासको इतिहासमा कालो धब्बा लगाएको छ। जनताको सार्बभौम सदनलाई अपमान गरेर त्यही संसदबाट चुनिएको प्रधानमन्त्रीले कुन नैतिकताको आधारमा आफूलाई प्रधानमन्त्री ठानिरहेको छ ? आफ्नो धारातल बिर्सेर जनताका प्रश्नहरुको उत्तर दिन नसक्ने लुकेर बस्ने के प्रवृति हो यो ? यसले कस्तो नजीर बसाउँछ ?’ उनले न्यूनतम कर्तव्य समेत पूरा नगरेकाले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

सांसद राईले प्रधानमन्त्रीले संसदप्रति गैरजिम्मेवार व्यवहार देखाएको आरोप लगाएका छन्। विज्ञप्तिमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा, त्यसमाथिको छलफलमा तथा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने समयमा समेत संसदमा अनुपस्थित रहेको उल्लेख गरिएको छ।

सांसद राईले प्रधानमन्त्री संसदमा उपस्थित नभई आफ्नै कार्यालयबाट संसदको गतिविधि ‘लाइभ’ हेरेर बसेको भन्दै संसदीय मर्यादा र परम्परामाथि प्रहार भएको बताएका छन्। प्रधानमन्त्रीको यस्तो व्यवहारले संसदमार्फत जनताले राखेको लोकतान्त्रिक विश्वास कमजोर भएको र संसदीय अभ्यासमै कालो धब्बा लागेको टिप्पणी विज्ञप्तिमा गरिएको छ।

सांसद राईले जनताको सार्वभौम संस्थाको अपमान गर्ने प्रधानमन्त्री नैतिक रूपमा पदमा बसिरहन नसक्ने जिकिर गर्दै न्यूनतम जिम्मेवारी पूरा गर्न नसकेको आरोप लगाएका छन्। उनले नैतिकताको आधारमा प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने माग समेत गरेका छन्।

विज्ञप्तिमा वर्तमान सरकारले संसदलाई कमजोर बनाउँदै अध्यादेशको बाटोबाट शासन चलाउन खोजेको आरोप पनि लगाइएको छ। साथै सीमा सुरक्षा, जनजीविका र गरिब जनताको समस्याप्रति सरकार गम्भीर बन्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ।