अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुर्खेत पुगेर पूर्णबहादुर खड्काले भने- कांग्रेस विभाजनको संघारमा छ

सुर्खेत पुगेर पूर्णबहादुर खड्काले भने- कांग्रेस विभाजनको संघारमा छ


सुर्खेत-नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको संघारमा रहेको बताएका छन्। शनिबार कांग्रेस कर्णाली प्रदेशले वीरेन्द्रनगरमा आयोजना गरेको ‘कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा बोल्दै खड्काले यस्तो बताएका हुन्।

गृह जिल्लामा आयोजित भेलाको उद्घाटन गर्दै खड्काले विशेष महाधिवेशनका कारण गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले हार व्यहोरेको बताए ।

‘इतिहासमै नेपाली कांग्रेस पहिलोपटक लज्जास्पद हार व्यहोर्नुपरेको छ’ उनले भने, ‘चुनावको मुखमा गरिएको विशेष महाधिवेशनले पार्टीलाई ऊर्जा दिन सकेन ।’ हार व्यहोरे पनि नेतृत्व अझै पार्टी एकताको पक्षमा गम्भीर नभएको खड्काको आरोप छ । पार्टी एकताको पहल नेतृत्वबाट हुनुपर्नेमा नेतृत्व विभाजनतिर अग्रसर भएको उनको भनाइ छ।

‘नेतृत्व एकताको भन्दा पनि टिम विभाजनतर्फ लागेको देखियो’ उनले भने, ‘यसले पार्टी एकतालाई बल पुर्‍याउँदैन ।’ नेताहरुलाई घेराबन्दीमा पार्ने र विशेषको नाममा पार्टी कब्जा गर्न उद्दत रहेको उनले बताए । क्रियाशील अद्यावधिकको नाममा सदस्यहरुलाई पार्टीबाट लखेट्न खोजिएको उनको आरोप छ ।

डिजिटलाइजेसन र आधुनिकताको नाममा पार्टीमा लामो समय योगदान दिएका नेता कार्यकर्तालाई अपमानजनक रुपमा लखेट्न खोजिएको उनले बताए । पार्टी अफ्ठ्यारो अवस्थामा पुगेकोले सबै तहका नेता कार्यकर्ताको सुझाव लिन आफूले सबै प्रदेशमा भेला आयोजना गरिएको र तल्लो तहबाट आएको सुझावका आधारमा आफ्नो समूहले आवश्यक निर्णय लिने उनको भनाइ छ ।

पार्टीमा लागेर आफूले पाउनुपर्ने सबै पद र अवसर प्राप्त गरिसकेकाले आफूले बाँकी पुस्ताको राजनीतिक भविष्यका लड्ने उनले बताए ।

कांग्रेस कर्णाली प्रदेश समितिले आयोजना गरेको विचार गोष्ठी नाम दिइएको भेलामा देउवा समूहका नेता कार्यकर्ताहरुको सहभागिता छ ।

संस्थापन समूहले भेलालाई अघोषित बहिष्कार गरेका छन् । भेलामा देउवा समूहका मानिने प्रतिनिधि सभा सदस्य र कर्णाली प्रदेश सभा सदस्यहरु र निवर्तमान केन्द्रीय सदस्यहरु सहभागी भएका छन् ।

निवर्तमान कार्यवहाक सभापति खड्काले कार्यक्रम उद्घाटन गरेका हुन् ।

पार्टीको कार्यक्रम सञ्चालन कार्यविधि अनुसार नै मञ्चमा प्रमुख अथिति खड्का, कर्णाली प्रदेश संसदीय दलका नेता जीवन शाही र प्रदेश सभापति ललितजंग शाही मात्र छन् । खड्का निकट मानिने कर्णाली प्रदेशबाट प्रतिनिधि सभा सदस्य विष्णुबहादुर खड्का, खड्कबहादुर बिसी, जयपति रोकाया, राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकाया भेलामा सहभागी छन् । भेलामा चौधौं महाधिवेशनबाट खड्का निटकका केन्द्रीय सदस्यहरुको पनि सहभागिता रहेको छ ।