अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सरकार नागरिक अधिकारमाथि बन्देज लगाउन खोजिरहेको छ: प्रचण्ड

वर्तमान सरकार नागरिक अधिकारमाथि बन्देज लगाउन खोजिरहेको छ: प्रचण्ड


सुर्खेत-नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले वर्तमान सरकार दुई तिहाइको दम्भमा नागरिक अधिकारलाई बन्देज लगाउन अग्रसर भएको बताएका छन्। सरकारका गतिविधीले लोकतान्त्रिक व्यवस्था टिकाउने चुनौती रहेको उनले बताए।

कार्यकर्ता प्रशिक्षणका लागि सुर्खेत आइपुगेका प्रचण्डले आइतबार बिहान वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सरकारका क्रियाकलापहरु लोकतान्त्रिक नभएको टिप्पणी गरे। आफैंले बोलाएको सदन भोलिपल्ट रोकेर अध्यादेश ल्याएर सरकारले लोकतन्त्रको उपहास गरेको प्रचण्डको भनाई छ।

‘आफैँले सदन बोलाउने, आफ्नो दुई–तिहाइ झन्डै छ, नियमित प्रक्रियाबाटै विधेयकहरू ल्याउन सकिन्छ, त्यो बाटो छोडेर सदनलाई छलेर अध्यादेशको बाटो जाने लाजमर्दो कुरा पनि हो,’ उनले अगाडि भने, ‘त्यसको पनि हामीले प्रतिवाद गरिनै राखेका छौँ ।’

‘नेपालको सन्दर्भमा हालसम्म नभएको अभ्यास वर्तमान सरकारले गरेको छ’ उनले भने, ‘त्यसले लोकतन्त्रको उपहास गरेको बुद्धिजीवी र आम नेपालीको बुझाई रहेको तपाईंहरुले बुझिरहनु भएकै छ।’

ट्रेड युनियनको खारेजी, विद्यार्थी संगठनहरुको प्रतिबन्ध लगायतका विषयहरुले सरकार लोकतान्त्रिक बाटोमा छैन भन्ने देखाएको उनको धारणा थियो ।

‘सुकुमबासीहरूको समस्या समाधान भएको छैन, त्यो अहिले पनि गम्भीर प्रकृतिकै समस्याको रूपमा छँदैछ,’ उनले भने, ‘ट्रेड युनियनसँग सम्बन्धित, विद्यार्थीसँग सम्बन्धित विषयहरू पनि गम्भीर छँदै छन् । संविधान संशोधनको निम्ति भनेर सरकारले जो बहस पत्र तयार पार्ने भनेको छ, त्यो पनि त्यति पारदर्शी तरिकाले अगाडि आएको छैन । त्यो पनि आफैँमा एउटा गम्भीर छलफलको विषय बनिराख्या छ ।’

सरकारले गर्ने लोकतान्त्रिक कार्यहरुमा आफ्नो पार्टीले समर्थन र जनविरोधी क्रियाकलापहरुमा खबरदारी गर्ने उनले बताए। अध्यादेश ल्याउनेदेखि सबै हिसाबले वर्तमान सरकार बालेन साहको नियत राम्रो नदेखिएको प्रचण्डको भनाइ छ।

सरकारका नागरिक अधिकार विरोधी क्रियाकलापहरुले समर्थन गर्न सकिने अवस्था नरहेको उनले बताए। ‘सरकारका राम्रा कामलाई रचनात्मक रुपमा सहयोग गर्नेमा हामी तयार छौँ’ उनले भने, ‘लोकतन्त्रको सुदृढीकरण संविधानको रक्षाका लागि हामी सरकारलाई खबरदारी गरिरहन्छौँ।’

बदलिँदो परिस्थितिमा प्रदेश सरकारहरु पुर्नगठनका लागि कांग्रेस र एमालेबाट मिलेजर जान प्रस्ताव आएको भए पनि आफ्नो पार्टीले इन्कार गरेको उनले बताए । आफ्नो पार्टी अहिले प्रदेश सरकार परिवर्तनको पक्षमा नरहेको तर सबै पार्टी मिलेर जाने प्रसङ्मा सबै पार्टी मिलेर साझा सरकार बनाउने विषयमा सहमत हुने आफूले प्रस्ताव गरेको उनको भनाई छ ।