सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा अब कर्णाली प्रदेशभरबाट प्रदेश अस्पताल वीरेन्द्रनगर तथा अन्य स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीले निःशुल्क रगत सेवा पाउने भएका छन्।
आर्थिक वर्ष २०८२\0८३ को नीति, कार्यक्रम तथा विनियोजित बजेट अन्तर्गत वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेत बीच सोमबार सम्झौता सम्पन्न भएको हो। सम्झौताअनुसार कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट उपचारका लागि आउने बिरामीलाई आवश्यक रगत निःशुल्क उपलब्ध गराइनेछ। यो सेवा रेडक्रस शाखा सुर्खेतद्वारा सञ्चालित ब्लड बैंकमार्फत प्रदान गरिने नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिइन ।
सम्झौतामा प्रमुख ढकाल र रेडक्रस शाखा सुर्खेतका सभापति रामलाल आचार्यले हस्ताक्षर गरेका छन्। सम्झौतामा आगामी वर्षहरूमा समेत कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरिएको छ।

नगर प्रमुख ढकालले यस कार्यक्रमले स्वास्थ्य सेवामा ठूलो सहयोग पुग्ने अपेक्षा व्यक्त गरिन्। त्यस्तै अस्पताल प्रमुख डा. गणेश थापाले नगरपालिकाको यो कदमले उपचारका लागि आउने बिरामीलाई थप राहत र सहयोग पुग्ने विश्वास व्यक्त गरे।
जिल्ला रेडक्रस शाखा सुर्खेतअन्तर्गत सञ्चालित ब्लड बैंकमार्फत सेवा उपलब्ध हुने भएकाले आर्थिक अभावका कारण रगत व्यवस्थापनमा समस्या भोगिरहेका बिरामीलाई प्रत्यक्ष लाभ पुग्ने ढकालले बताइन् ।





प्रतिक्रिया