काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानवअधिकार आयोगले भदौ २३ र २४ को घटना सम्बन्धी प्रतिवेदनप्रति असन्तुष्टि जनाएका छन्। अध्यक्ष ओलीले घटनाको छानबिनका नाममा फलानालाई कारबाही गर्नु भनेर प्रतिवेदनमा लेखिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
काठमाडौँमा बुधवारबाट सुरु भएको सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘मानवअधिकार आयोगले एउटा समिति बनायो। तर त्यसको प्रतिवेदन लामो समय सार्वजनिक भएन’, अध्यक्ष ओलीले भने, ‘छानबिन समितिका अध्यक्षले अब पनि सार्वजनिक भएन भने मै सार्वजनिक गर्छु भन्नुपर्यो।’
अध्यक्ष ओलीले कारवाहीका लागि भनेर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र अदालतको आदेश अनुसार सामाजिक सञ्जाल नियमन गरेको आरोपमा तत्कालीन सञ्चार मन्त्रीलाई समेत कारबाही गर्न सो समितिले सिफारिस गरेको भन्दै अदालतको आदेश मान्दा कसरी मानवअधिकारको उल्लंघन हुन्छ भनेर प्रश्न गरे ।
‘पहिला मान्छे तोक्यो र फलाना फलानालाई फसाउने । कहाँबाट आयो ? यस्तो ? अचम्म लाग्छ कसरी भयो मानवअधिकार उल्लङ्घन ?’, अध्यक्ष ओलीले प्रश्न गरे, ‘कसले गोली चलायो केही पत्ता र पुष्टि छैन ।’
अध्यक्ष ओलीले अहिलेको कानुनले पनि कारबाही गर्न नमिल्ने भएपछि तर भूतप्रभावी कानुन बनाएर कारबाही गर्न निर्देशन दिएको भन्दै असन्तुष्टि जनाए।




प्रतिक्रिया