अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आइएमईको प्रतिबद्धता: डिजिटल रेमिटेन्सबाट आर्थिक रूपान्तरण

आइएमईको प्रतिबद्धता: डिजिटल रेमिटेन्सबाट आर्थिक रूपान्तरण



काठमाडौं-नेपाली रेमिटेन्स सेवाको पर्यायवाचीका रूपमा स्थापित आइएमईले आफ्नो २६औँ वार्षिकोत्सव शुक्रबार काठमाडौंमा विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।

वार्षिकोत्सवका अवसरमा आइएमई लिमिटेडका संस्थापक तथा अध्यक्ष हेम राज ढकालले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाई केन्द्रमा राख्दै आगामी दिनमा डिजिटल इनोभेसनमार्फत अझ परिष्कृत, सुरक्षित र छिटोछरितो एकीकृत वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले वैदेशिक रोजगारीका क्रममा भोगेका अनुभवबाट सुरु भएको सानो परिकल्पना आज रेमिटेन्स सेवाभन्दा बाहिर वित्तीय तथा डिजिटल भुक्तानी प्रणालीको महत्वपूर्ण अंग बन्न सफल भएको उल्लेख गर्नुभयो। साथै, दुर्गमदेखि सहरी क्षेत्रसम्म वित्तीय पहुँच विस्तार गर्दै आर्थिक समावेशिता र सामाजिक-आर्थिक रूपान्तरणमा आइएमईले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो।

अध्यक्ष ढकालले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङको विकाससँगै वित्तीय सेवा प्रवाहको स्वरूप परिवर्तन भइरहेको उल्लेख गर्दै नवीनतम प्रविधि आत्मसात् गरी रेमिटेन्स तथा अन्य वित्तीय सेवालाई अझ सुरक्षित, प्रभावकारी र सहज बनाइने बताउनुभयो।

त्यसैगरी, आइएमईका संस्थापक तथा समूह अध्यक्ष चन्द्र प्रसाद ढकाल ले २६ वर्षको यात्रामा “रेमिट भनेकै आइएमई” भन्ने पहिचान स्थापित हुनु गर्वको विषय भएको बताउँदै यसले संस्थाको जिम्मेवारी थप बढाएको उल्लेख गर्नुभयो। उहाँले रेमिटेन्सलाई औपचारिक माध्यमबाट भित्र्याउने, विदेशी मुद्रा सञ्चिति सुदृढ बनाउन योगदान गर्ने तथा विप्रेषणलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न सरकारसँग सहकार्य जारी रहने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल ले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता र साझा मूल्य–मान्यतालाई केन्द्रमा राखेर कम्पनीले सेवा प्रवाह गरिरहेको बताउनुभयो। उहाँले प्रविधिमैत्री र विविधीकृत सेवामार्फत आम नागरिकको दैनिक जीवनसँग अझ नजिकिँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सो अवसरमा आइएमईको नयाँ लोगोसमेत सार्वजनिक गरिएको छ। कम्पनीका अनुसार नयाँ लोगोले आइएमईका विस्तारित वित्तीय तथा डिजिटल सेवाको प्रतिनिधित्व गर्नेछ।

वार्षिकोत्सवका अवसरमा आयोजित अन्तरकम्पनी खेलकुद तथा विभिन्न प्रतिस्पर्धाका विजेता र उपविजेतालाई प्रमाणपत्र, मेडल तथा ट्रफी प्रदान गरिएको थियो। लामो समयदेखि कम्पनीमा आबद्ध कर्मचारीहरूलाई विशेष सम्मानसमेत गरिएको थियो।

समारोहमा आइएमई लिमिटेड तथा आइएमई ग्रुपअन्तर्गतका विभिन्न कम्पनीका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन प्रमुख तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Skip This