पोखरा-सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति सभापतिमा कास्कीका नवीन त्रिपाठी विजयी भएका छन्। त्रिपाठीले २ सय ३४ मत ल्याएर चुनाव जित्दा निकटतम प्रतिस्पर्धी बहालवाला सभापति समेत रहेका राजन गौतमले १ सय ८२ मत पाए । सभापतिका उम्मेदवार माधव कँडेलले ११ मत र हरिबहादुर कार्कीले २ मत मात्र प्राप्त गरेका छन् ।
त्रिपाठी प्रदेश समितिको निर्वतमान महामन्त्री समेत थिए।
निर्वाचनमा सभापतिका प्रत्याशीहरू निर्वतमान सभापति एवं प्रतिनिधिसभाका सांसद राजन गौतमले १८२, माधव कँडेलले ११ र डा हरि कार्कीले २ मत प्राप्त गरेका छन्।
रास्वपाको विधानमा सभापति निर्वाचित हुन खसेको कुल मतको ५१ प्रतिशत मत पाउनुपर्ने व्यवस्था छ।
त्रिपाठीले पहिलो चरणमै उक्त मत पाएर निर्वाचित भएका निर्वाचन समितिका संयोजक डा. राम गुरुङले जानकारी दिए। अधिवेशनमा कूल ७८० प्रतिनिधी रहे पनि ४३७ जनाले मात्र मतदानमा सहभागिता जनाएका थिए।
रास्वपा गण्डकी प्रदेशको सदस्यका लागि ५१ जनाले उम्मेद्वारी दिएका थिए।
जसमध्येबाट विभिन्न कलस्टरसहित ३३ जना निर्वाचित हुन्छन्। ५१ आकांक्षीमध्ये क्षेत्रगत प्रदेश सदस्यका लागि २८ जना उम्मेद्वार छन्।
यी २८ जनाबाट गण्डकी प्रदेशको १८ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रका १/१ जना निर्वाचित हुन्छन्। समावेशी प्रदेश सदस्यका लागि २३ जनाको उम्मेद्वारी परेको थियो । प्रदेश सदस्यका लागि ५१ आकांक्षीमध्ये १२ जना निर्विरोध निर्वाचित भएका छन्।
क्षेत्रगत प्रदेश सदस्यतर्फबाट बागलुङ–१ का मीना शर्मा आचार्य, गोरखा–१ बाट मनोज गुरुङ, गोरखा–२ बाट बलबहादुर घले, लमजुङबाट विजय पराजुली, म्याग्दीबाट ताराबहादुर कार्की र तनहुँ–१ बाट सूर्यमणि पौडेल निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ।
प्रदेश समावेशी सदस्यमा खसआर्य महिलाबाट सीताकुमारी अर्याल, कृष्णकुमारी अधिकारी (अनिशा) र राममाया बस्ताकोटी निर्विरोध निर्वाचित भएका छन्।
मुस्लिम महिलाबाट समिउन निशा, दलित महिलाबाट गीता विश्वकर्मा र अपाङ्गता भएका खसआर्यबाट यदुनाथ सिग्देल निर्विरोध निर्वाचित भएका छन्।
अधिवेशनको शुक्रबार पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले उद्घाटन गरेका थिए।






प्रतिक्रिया