काठमाडौं-नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकार र प्रधानमन्त्रीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता ज्ञवालीले प्रधानमन्त्री ‘जिस्किँदै’ हिँडिरहेको र देश बनाउने जिम्मेवारीमा रहेको टोलीले व्यवसायीहरूलाई धम्की दिने काम गरिरहेको आरोप लगाए।
नेता ज्ञवालीले व्यवसायीहरूका खुट्टा भाँच्ने जस्ता अभिव्यक्तिहरू सार्वजनिक रूपमा आउनु चिन्ताजनक भएको बताए। उनले यस्तो प्रवृत्तिले लगानी, उद्योग–व्यवसाय र आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पार्ने धारणा राखे।
नेता ज्ञवालीले गरिखाने वर्गलाई लक्षित गरेर गरिएका गतिविधिहरूमाथि पनि प्रश्न उठाए। ‘गरिखानेहरूको ट्याम्पो भीरबाट गुडाइदिएर ठूलो शत्रुमाथि विजय हासिल गरेजस्तो आत्मरतिमा रमाइरहेको अवस्था देखिन्छ,’ उनले भने।
नेता ज्ञवालीले भने, ‘प्रधानमन्त्रीको ‘देश बनाउने टोली’ व्यवसायीहरूका खुट्टा भाँच्ने धम्की दिँदै छ । गरिखानेहरूको ट्याम्पो भीरबाट गुडाइदिएर ठुलै शत्रुमाथि ‘सर गरेको’ आत्मरतिमा रमाइरहेको छ।’
नेता ज्ञवालीले मुलुक गम्भीर भूराजनीतिक चुनौतीतर्फ धकेलिँदै गएको दाबी गर्दै सीमामा चिया निकासी रोकिँदा हजारौं श्रमिक र सयौं उद्यमी प्रभावित भएको, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधान हुन नसकेको, धान रोपाइँको समयमा मल अभाव कायमै रहेको र महँगी बढ्दै गएको उल्लेख गरेका छन्।
त्यसैगरी धान रोपाइँको समयमा पनि मल अभाव कायम रहेको, महँगी बढ्दै गएको र जनजीविका प्रभावित भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे। ज्ञवालीले सरकार जनताका यस्ता समस्याप्रति गम्भीर नदेखिएको आरोपसमेत लगाए।
नेता ज्ञवालीले राष्ट्रपति संस्थाको सम्मानमा कमी आएको, संसद्को भूमिका कमजोर बनाइएको, मतदाताप्रति उपेक्षा बढेको, लोकतान्त्रिक अधिकारहरू संकुचित हुँदै गएको तथा संवैधानिक निकायहरूमाथि हस्तक्षेप भइरहेको आरोप लगाए। यस्ता प्रवृत्तिले मुलुकलाई अलोकतान्त्रिक दिशातर्फ धकेल्न सक्ने उनको चेतावनी छ।
नेता ज्ञवालीले एमाले र नेपाली कांग्रेसजस्ता प्रमुख राजनीतिक दलहरूले आफ्ना आन्तरिक समस्याभन्दा माथि उठेर राष्ट्रिय मुद्दामा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। उनले लोकतान्त्रिक पार्टीभित्र नीति, निर्णय, संगठन, शैली तथा नेतृत्वका विषयमा मतान्तर देखिनु स्वाभाविक प्रक्रिया भएको बताए। नेता ज्ञवालीले यस्ता समस्याको समाधानका लागि दलभित्रै विधिसम्मत उपायहरू रहेको उल्लेख गर्दै आन्तरिक एकता थप सुदृढ हुने विश्वास व्यक्त गरे।






प्रतिक्रिया