चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन चलिरहेका बेला बुधबार बिहान चितवनबाट प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) काठमाडौं फर्किएका छन्।
रास्वपाको केन्द्रीय सदस्य पदका लागि मतदानको तयारी भइरहेका बेला बालेन बुद्ध एयरमार्फत काठमाडौं प्रस्थान गरेका हुन्। महाधिवेशन उद्घाटनका लागि २०८३ असार ७ गते आइतबार पत्नी र छोरीसहित चितवन पुगेका उनी महाधिवेशनका विभिन्न कार्यक्रममा सहभागी भएका थिए।
मंगलबार बालेनले पार्टी सभापति पदमा पुनः उम्मेदवारी दिएका रवि लामिछानेका प्रस्तावकको भूमिका निर्वाह गरेका थिए। सभापति पदमा अन्य कसैको उम्मेदवारी नपरेपछि लामिछाने मंगलबार नै निर्विरोध निर्वाचित भएका थिए।
महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया जारी रहेकै अवस्थामा बालेन काठमाडौं फर्किए पनि उनको फिर्तीको कारणबारे भने औपचारिक जानकारी सार्वजनिक गरिएको छैन। रास्वपाको महाधिवेशन अन्तर्गत अन्य पदका लागि निर्वाचन प्रक्रिया भने जारी रहेको छ।
रास्वपाका वरिष्ठ तथा प्रधानमन्त्री बालेनले केन्द्रीय समितिकाे सदस्यमा उम्मेदवारी दिन नपाउने भएका छन्। रास्वपा महाधिवेशनमा उम्मेदवारीसम्बन्धी गरिएकाे नयाँ व्यवस्थाअनुसार उम्मेदवारका प्रस्तावक र समर्थक स्वयं उम्मेदवार बन्न नपाउने व्यवस्था छ। नयाँ नियमअनुसार कुनै उम्मेदवारको प्रस्तावक वा समर्थक बनेका व्यक्तिले सोही निर्वाचनमा उम्मेदवारी दिन पाउने छैनन् ।
रास्वपाको सभापतिका लागि रवि लामिछानेले उम्मेदवारी दर्ता गराउँदा बालेन प्रस्तावक बसेका छन् । साेही कारण उनी केन्द्रीय समिति सदस्यकाे उम्मेदवार बन्न नपाउने भएका हुन् ।






प्रतिक्रिया