काभ्रे-काभ्रेका १३ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट प्रस्तुत गरेका छन्। असार १० गतेभित्र आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था अनुरूप काभ्रेका १३ वटै स्थानीय तहले नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन्।
नमोबुद्ध नगरपालिका, महाभारत र चौरीदेउराली गाउँपालिकाले १० गते अगावै पेस गरिसकेका थिए भने अन्य १० स्थानीय तहले बुधबार बजेट ल्याएका हुन्। काभ्रेका स्थानीय तह मध्ये सबैभन्दा ठुलो आकारको बजेट पनौती नगरपालिकाले ल्याएको छ।
पनौती नगरपालिकाले आगामी वर्षको १ अर्ब ९६ करोड ९५ लाख ७५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ भने मण्डनदेउपुर नगरपालिकाले १ अर्ब ३१ करोड ६५ लाख रुपैयाँ पुर्याएको छ। मण्डनदेउपुरले गत वर्ष भन्दा २० करोड ९० लाख रुपैयाँ बजेट वृद्धि गरेको छ ।
पाँचखाल नगरपालिकाले ९६ करोड ६१ लाख ९० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नमोबुद्ध नगरपालिकाले ९१ करोड ३६ लाख ८३ हजार ९ सय १८ रुपैयाँ, धुलिखेल नगरपालिकाले २३ करोड २६ लाख ५४ हजार रुपैयाँको बजेट ल्याएको छ।
रोशी गाउँपालिकाले ७२ करोड ९९ लाख ४२ हजार रुपैयाँ, महाभारत गाउँपालिकाले ६६ करोड ८९ लाख रुपैयाँ, तेमाल गाउँपालिकाले ५३ करोड १२ लाख ६ हजार ६ सय ४० रुपैयाँको बजेट प्रस्तुत गरेका छन्।
बनेपा नगरपालिकाले १ अर्ब २१ करोड ३ लाख ४६ हजार ३ सय ८५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। चौरीदेउराली गाउँपालिकाले आर्थिक वर्षको लागि ५६ करोड ७३ लाख ८२ हजार १८० रुपैयाँ सार्वजनिक गरेको छ।
त्यस्तै खानीखोला गाउँपालिकाको गत वर्षको बजेट ५२ करोड २३ लाख रुपैयाँबाट घटेर ५० करोड ५ लाख ५५ हजार रुपैयाँ पुगेको छ। भुम्लु गाउँपालिकाले गत वर्षको बजेट भन्दा यो वर्ष कम बजेट प्रस्तुत गर्दै ६१ करोड २९ लाख १६ हजार ५९८ रुपैयाँकाे सार्वजनिक गरेको छ। बेथानचोक गाउँपालिकाले अघिल्लो वर्ष ६४ करोड ७३ लाख ५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकोमा यस आर्थिक वर्षको लागि ६४ करोड ३५ लाख ६९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।






प्रतिक्रिया