अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनुसन्धानभन्दा पहिले गिरफ्तारी गर्नु लोकतान्त्रिक अभ्यासविपरीत: सूर्य थापा

अनुसन्धानभन्दा पहिले गिरफ्तारी गर्नु लोकतान्त्रिक अभ्यासविपरीत: सूर्य थापा


काठमाडौं-नेकपा (एमाले)का नेता सूर्य थापाले पर्याप्त अनुसन्धान र प्रमाण संकलन नगरी व्यक्तिलाई पक्राउ गर्ने कार्यशैली लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी शासनको सिद्धान्तविपरीत भएको बताएका छन्। उनले सरकारले अपनाइरहेको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता थापाले तथ्य र प्रमाणका आधारमा अनुसन्धान अघि बढाउनुपर्नेमा पहिले पक्राउ गर्ने र त्यसपछि अनुसन्धान सुरु गर्ने प्रवृत्ति स्वीकार्य हुन नसक्ने बताएका हुन्।

नेता थापाले तथ्य र प्रमाणबिनै व्यक्तिलाई पहिले पक्राउ गरेरपछि अनुसन्धान गर्ने अभ्यास लोकतान्त्रिक शासन प्रणालीसँग मेल नखाने बताएका छन्। यस्तो अभ्यासले नागरिकको मौलिक अधिकार, कानुनी प्रक्रियाप्रतिको विश्वास र न्याय प्रणालीको विश्वसनीयतामाथि प्रश्न उठ्ने उनको भनाइ छ।

नेता थापाले झोसपोल वा अपुष्ट सूचनाका आधारमा कसैलाई पक्राउ गरी दुर्व्यवहार गर्नु अपमानजनक कार्य भएको उल्लेख गर्दै झुठो प्रचार र होहल्लाले तथ्य स्थापित नहुने बताएका छन्।

नेता थापाका अनुसार अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा मात्र अभियोजन गरिनु लोकतान्त्रिक विधिको आधारभूत मान्यता हो। साथै, आरोपित व्यक्तिले निष्पक्ष सुनुवाइ पाउने, आफ्ना पक्षमा स्पष्टीकरण दिने तथा कानुनी प्रक्रिया पूरा गर्ने अवसर पाउनु उसको मौलिक अधिकार भएको उनले उल्लेख गरेका छन्।

उनले कुनै पनि बहानामा नागरिकको मौलिक अधिकार हनन गर्न कसैलाई अधिकार नभएको भन्दै कानुनी शासन र विधिको शासनको पालना गर्न सरकारलाई आग्रह गरेका छन्।

Skip This