काठमाडौं-कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको पुष्टि भएको छ। यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको विज्ञले बताएका छन्।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले कागमा बर्डफ्लु देखिएकाले उपत्यकाभर फैलिएको बताए।
‘कुखुरामा देखिएको बर्डफ्लुलाई नियन्त्रणमा लिन सकिन्छ। तर, बर्डफ्लु देखिएका कागलाई नियन्त्रणमा लिन सकिदैन । सदर चिडियाखानालगायत धेरे ठाउँमा कागले सङ्क्रमण सारेको छ’, उनले भने।
सङ्क्रमित कागले एक ठाउँबाट उडेर अर्को ठाउँ रोग सार्ने गरेको दाहालले बताए । कागमा देखिएको सङ्क्रमण २१ दिनसम्म रहने भएकाले धेरै नै बर्डफ्लु रोग सार्न सक्ने उनको भनाइ छ।
‘काग मरेपछि कहाँ मरेको भन्ने थाहा हुँदैन। अनि त्यही मरेको कागले बर्डफ्लु सार्ने गरेको छ। कागको सुलीले पनि धेरै नै बर्डफ्लु सार्ने गर्दछ,’ दाहालले भने।
हाल काठमाडौं उपत्यकाका तीनै जिल्लामा बर्डफ्लु देखिएको छ। देशभर ११ जिल्लाका १०० ठाउँमा बर्डफ्लुको सङ्क्रमण देखिएको पशु सेवा विभागले जनाएको छ।
महानिर्देशक डा. दाहालले उपत्यकामा कीर्तिपुर र कागेश्वरी मनहराबाहेक सबै ठाउँमा बर्डफ्लु नियन्त्रण लिइसकिएको बताए । बर्डफ्लु पन्छीमा लाग्ने उच्च मृत्युदर भएको एक सङ्क्रामक रोग हो।
-रासस






प्रतिक्रिया