काठमाडौं-नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानको क्रममा पक्राउ परेका उपाध्यक्ष पौडेललाई तेस्रोपटक म्याद थप गरिएको हो।
विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले अनुसन्धानका लागि थप तीन दिन म्याद थपको अनुमति दिएको हो।
यसअघि असार १५ गते उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिइएको थियो। त्यसअघि असार ९ गते ७ दिनका लागि म्याद दिइएको थियो।
हिरासतमा राख्न अनुमति दिएपछि असार १० गते पौडेलकी पत्नी दोमायाले आफ्ना श्रीमानलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
यो रिटमाथि पनि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ भइरहेको हो।
यसअघि मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासमा पौडेलको रिटमा सुनुवाइ भएको थियो। उक्त इजलासले विशेष अदालतमा दायर भएको व्यापारी दिपक भट्ट र सुलभ अग्रवाल लगायत विरूद्धको सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, धितोपत्र सम्बन्धी कसुर, बीमा सम्बन्धी कसुरका मुद्दाका फाइल मगाएको थियो।
पौडेल सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए ।






प्रतिक्रिया