अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२० घण्टासम्म पनि कर्णालीमा बेपत्ता नागरिकको उद्धार गर्न सकेन सरकार: ज्ञानेन्द्र शाही

२० घण्टासम्म पनि कर्णालीमा बेपत्ता नागरिकको उद्धार गर्न सकेन सरकार: ज्ञानेन्द्र शाही


काठमाडौँ-राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा गाडीसहित बेपत्ता भएका नागरिकको उद्धारमा सरकार गम्भीर नभएको आरोप लगाएका छन्। 

विपद् व्यवस्थापन तथा उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्ने दाबी सरकारले संसद्‌मा गरे पनि कर्णालीमा भएको घटनामा झण्डै २० घण्टा बितिसक्दा समेत उद्धारका लागि हेलिकप्टर परिचालन गर्न नसकेको सांसद शाहीले बताएका हुन्।

सामाजिक सञ्जालमार्फत सांसद शाहीले लेखेका छन्, ‘विपत् व्यवस्थापन र उद्धारका लागि हेलिकप्टर राख्छु भनेर संसदमा ठूला–ठूला गफ गर्ने सरकार, कर्णालीमा गाडीसहित बेपत्ता भएका नागरिकको उद्धारमा भने झण्डै २० घण्टा बितिसक्दा पनि हेलिकप्टर पठाउन सकेको छैन।’

सांसद शाहीले संकटका बेला नागरिकको ज्यानभन्दा ठूलो कुनै प्राथमिकता नहुने उल्लेख गर्दै पीडित परिवार आफ्ना आफन्तको सकुशल उद्धारको आशामा रातभर जागा बस्न बाध्य भएको, तर अझै राज्यको उपस्थितिको अनुभूति हुन नसकेको टिप्पणी गरेका छन्। विपद् व्यवस्थापनका नाममा गरिएका प्रतिबद्धता भाषण र घोषणामै सीमित भए त्यसको कुनै अर्थ नरहने उल्लेख गर्दै यस्तो संवेदनशील अवस्थामा राज्यले आफ्नो सम्पूर्ण संयन्त्र तत्काल परिचालन गरी उद्धार कार्यलाई तीव्र बनाउनुपर्ने उनले बताएका छन्।

सांसद शाहीले प्रत्येक क्षण अमूल्य हुने र ढिलो भएको हरेक मिनेटले कसैको जीवनसँग प्रतिस्पर्धा गरिरहेको भन्दै सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्। उनले सरकारसँग राजनीति होइन, मानवताको पक्षमा उभिन आग्रह गर्दै उद्धार कार्यमा कुनै ढिलाइ नगरी आवश्यक सबै स्रोत–साधन तत्काल परिचालन गर्न माग गरेका छन्। उनले भनेका छन्, ‘सरकारसँग हार्दिक आग्रह छ–राजनीति होइन, मानवताको पक्षमा उभिनुहोस्। उद्धार कार्यमा कुनै ढिलाइ नगरी आवश्यक सबै स्रोत–साधन तत्काल परिचालन गर्नुहोस्।’

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ अन्तर्गत कर्णाली राजमार्गको साङ्गेतडा नजिकबाट कप्र ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी असर १८ गते बिहीबार दिउँसो कर्णाली नदीमा खसेको थियो। उक्त गाडीमा सवार एक यात्रुको शव हिजै भेटिए पनि सनाखत आज मात्रै भएको हो। सनाखत हुने मृतक कालीकोटको पचाल झरना गाउँपालिका- ९ निवासी ४५ वर्षीय जेखे तिरुवा रहेका खुलेको छ। उनको शव पोस्टमार्टमका लागि नगर अस्पताल दैलेखको दुल्लुमा राखिएको छ। 

दुर्घटनामा परेको गाडीमा कति सवार थिए, अझै यकिन भएको छैन। तर, गाडीमा चालकसहित ५/६ जना यात्रु रहेको अनुमान प्रहरीले गरेको छ। अन्य यात्रुको अवस्था तथा विवरण खुल्न बाँकी रहेको र खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।

बिहीबार बिहान साढे ११ बजेतिर सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको गाडी सडकबाट करिब चार-पाँच सय मिटर तल कर्णाली नदीमा खसेको हो। 

दुर्घटनास्थल दैलेख सदरमुकामबाट करिब ५० किलोमिटर पश्चिममा पर्छ। 

Skip This