अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काम नगर्ने मेयर र प्रदेश मन्त्रीलाई ‘थुन्छौँ’ भन्ने भौतिक पूर्वाधारमन्त्री लम्सालको अभिव्यक्ति विवादमा

काम नगर्ने मेयर र प्रदेश मन्त्रीलाई ‘थुन्छौँ’ भन्ने भौतिक पूर्वाधारमन्त्री लम्सालको अभिव्यक्ति विवादमा


काठमाडौं-भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल पुनः विवादमा तानिएका छन्। काम नगर्ने मेयर र प्रदेशका मन्त्रीलाई ‘थुन्ने’ चेतावनीपूर्ण अभिव्यक्ति दिएपछि उनको भनाइलाई लिएर आलोचना सुरु भएको हो।

आइतबार तनहुँको दुलेगौंडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तासँगको भेटघाटका क्रममा मन्त्री लम्सालले जनप्रतिनिधि र प्रदेश सरकारका मन्त्रीले जनताको काम नगरे कारबाही गर्ने चेतावनी दिएका हुन्।

उनले भने, ‘यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई इन्फर्म गर्नुहोला, मेयरलाई नै कारबाही गर्छौँ। प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने प्रदेशको मन्त्रीलाई पनि थुन्छौँ, चिन्ता लिनुपर्दैन।’

मन्त्री लम्सालले जनतालाई दुःख दिने, सेवा प्रवाहमा लापरबाही गर्ने वा आफ्नो जिम्मेवारी पूरा नगर्ने जनप्रतिनिधि तथा पदाधिकारीबारे जानकारी भए सम्बन्धित निकायमा सूचना दिनसमेत आग्रह गरेका थिए।

यसअघि पनि उनले काम नगर्ने ठेकेदारहरूको ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति दिएका थिए। उक्त भनाइलाई लिएर व्यापक आलोचना भएको थियो। अहिले पुनः कानुनी प्रक्रियाभन्दा बाहिर जाने संकेत गर्ने शैलीमा दिएको अभिव्यक्तिले उनी फेरि विवादमा तानिएका छन्।

मन्त्रीको पछिल्लो भनाइ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले जनप्रतिनिधि र पदाधिकारीलाई जिम्मेवार बनाउन कडा सन्देश आवश्यक रहेको बताएका छन् भने अन्यले कानुनी शासनको मर्मविपरीत हुने गरी मन्त्रीबाट यस्ता अभिव्यक्ति आउनु अनुचित भएको टिप्पणी गरेका छन्।

Skip This