अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार राजेन्द्र विष्टको उपचार खर्च जुटाउन आग्रह

पत्रकार राजेन्द्र विष्टको उपचार खर्च जुटाउन आग्रह


काठमाडौं– जीवनभर अरूका दुःख, पीडा, संघर्ष र सफलताका कथाहरूलाई समाचार बनाएर समाजसम्म पुर्‍याउने पत्रकार राजेन्द्र विष्ट आज आफ्नै जीवन बचाउन सबैसँग सहयोगको याचना गर्न बाध्य भएका छन्।

राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयमा कार्यरत विष्ट विगत केही समयदेखि गम्भीर कलेजो रोगसँग संघर्ष गरिरहेका छन्। हाल पत्रकार विष्ट वीर अस्पतालको हेपाटोलोजी वार्डस्थित शय्या नम्बर १५५ मा उपचाररत छन्।

चिकित्सकका अनुसार विष्टको कलेजोमा जटिल समस्या देखिएको छ। कलेजोको असर मिर्गौलासम्म पुग्न थालेपछि उनको स्वास्थ्य अवस्था थप चुनौतीपूर्ण बनेको छ। अस्पतालका वरिष्ठ कलेजो रोग विशेषज्ञ डा. दिलिप शर्माका अनुसार विष्टलाई जीवन रक्षाका लागि कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था रहेको छ।

‘कलेजोमा गम्भीर समस्या छ। त्यसको असर मिर्गौलामा पनि देखिन थालेको छ। अब कलेजो प्रत्यारोपण नै आवश्यक देखिएको छ,’ डा. शर्माले बताए। उनका अनुसार उपचारका लागि ठूलो रकम आवश्यक पर्नेछ।

यही कठिन घडीमा विष्टका परिवारजनले सबैसँग सहयोगको याचना गरेका छन्। उनका बुवा जयबहादुर विष्टले छोराको उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेका छन्। परिवारका अनुसार उपचार खर्च जुटाउन नसक्ने अवस्था सिर्जना भएकाले सहयोगी मनहरूबाट साथको अपेक्षा गरिएको हो।

उपचार सहयोगका लागि राष्ट्रिय बाणिज्य बैंक, थापाथली शाखामा रहेको राजेन्द्र बहादुर विष्टको नामको खाता नम्बर १४३०१०००२५७९६०१० मा सहयोग रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ।

विष्टका सहकर्मी तथा शुभेच्छुकहरू पनि उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन्। रासस परिवारले प्रारम्भिक आर्थिक सहयोग उपलब्ध गराइसकेको छ भने नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाले समेत सहयोग प्रदान गरेको छ।

कञ्चनपुरको महेन्द्रनगर घर भएका विष्ट विगत ७ वर्षदेखि राससको सम्पादन शाखामा कार्यरत छन्। अरूका पीडा, संघर्ष र सफलताका कथा लेख्दै आएका एक पत्रकार आज आफ्नै जीवनको कठिन मोडमा उभिएका छन्। उनको उपचारमा जुट्ने सानो–सानो सहयोगले एउटा परिवारको आशा बचाउन र एक पत्रकारको जीवन जोगाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

Skip This