काठमाडौं उपत्यकामा विपद्को चर्चा गर्दा हामी प्रायः बाढी, पहिरो वा नदी कटानलाई मात्र सम्झन्छौं। तर स्थानीय सरकारको जनप्रतिनिधिका रूपमा विकास निर्माणका योजनाहरूको नियमित अनुगमन गर्दै जाँदा मैले अनुभव गरेको एउटा गम्भीर यथार्थ छ- काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मौन विपद् अव्यवस्थित सिवेज, ढल तथा वर्षा पानी (Storm water) व्यवस्थापन प्रणाली हो।

काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनिक रूपमा तीन जिल्ला भए पनि वातावरण, पूर्वाधार, यातायात, नदी प्रणाली, जनघनत्व र आर्थिक गतिविधिका हिसाबले एउटै महानगरीय क्षेत्र हुन्। तर हाम्रो योजना अझै पनि नगरपालिकाको सीमाभित्र सीमित छ। पानीले नगरपालिका वा जिल्लाको सीमा मान्दैन, तर हाम्रो पूर्वाधारले सीमा बनाएको छ।
अहिलेको समस्या कहाँ छ ?
काठमाडौं उपत्यकाका धेरै पुराना ढलहरू सुरुमा वर्षाको पानी बगाउन निर्माण गरिएका थिए। पछि घर-घरमा शौचालय र सिवेज जोडिँदै गएपछि ती नै प्रणाली संयुक्त (Combined Sewer System) मा परिणत भए। अहिले धेरै स्थानमा वर्षाको पानी र सिवेज एउटै पाइपबाट बग्ने व्यवस्था छ, जसले मनसुनमा प्रणालीमाथि अत्यधिक चाप सिर्जना गर्छ।
उपत्यकामा तीव्र शहरीकरणसँगै खुला जमिन, पोखरी, राजकुलो र पानी जमिनभित्र सोसिने क्षेत्रहरू क्रमशः हराउँदै गएका छन्। अधिकांश सडक, आँगन र सार्वजनिक क्षेत्र कंक्रिट र कालोपत्रेले ढाकिएका छन्। परिणामस्वरूप वर्षाको अधिकांश पानी केही मिनेटमै सडकबाट ढलमा र ढलबाट खोलामा पुग्छ। यसले एकातिर सडक डुबान र अर्कोतिर नदीमा आकस्मिक बहाव बढाउने अवस्था सिर्जना गरेको छ।
हाम्रै वरिपरिका उदाहरण
भक्तपुरको हनुमन्ते खोला, काठमाडौंको बागमती, विष्णुमती, धोबीखोला र मनोहरा नदी अहिले प्राकृतिक नदीभन्दा बढी सिवेज बग्ने माध्यमका रूपमा प्रयोग भइरहेका छन्। यही अवस्थालाई सुधार गर्न हनुमन्ते, मनोहरा र अन्य नदी किनारमा Interceptor Sewer निर्माणका परियोजनाहरू सञ्चालन गरिएका छन्, जसको उद्देश्य नदीमा सिधै मिसिने ढललाई प्रशोधन केन्द्रसम्म पुर्याउनु हो। तर यी प्रयासहरू मात्र पर्याप्त छैनन्, किनकि सम्पूर्ण उपत्यकाको प्रणाली अझै एकीकृत हुन बाँकी छ।
त्यस्तै, भक्तपुरको जगाती-राधेराधे-सल्लाघारी क्षेत्र, काठमाडौंको कोटेश्वर-तीनकुने-बालकुमारी करिडोर तथा ललितपुरका केही घना बस्तीहरूमा मनसुनका बेला सडक डुबान र ढल ओभरफ्लो दोहोरिने समस्या देखिन्छ। यी घटनाले एउटा कुरा स्पष्ट पार्छ- समस्या केवल बढी वर्षा होइन, पूर्वाधारको समग्र डिजाइन र समन्वय हो।
स्थानीय सरकारको सीमितता
स्थानीय सरकारले आफ्नो स्रोतअनुसार सडक, ढल र नाला निर्माण गरिरहेका छन्। तर पहिले नै निर्माण भइसकेका सडक फेरि भत्काएर सम्पूर्ण सिवेज प्रणाली पुनःनिर्माण गर्नु कुनै एक नगरपालिकाको आर्थिक क्षमताभित्रको विषय होइन।
त्यसैले यो केवल स्थानीय तहको समस्या होइन, काठमाडौं उपत्यकाको साझा तथा राष्ट्रिय पूर्वाधार चुनौती हो। यसलाई संघ, प्रदेश र सबै स्थानीय तहले संयुक्त रूपमा विशेष परियोजनाका रूपमा अघि बढाउनुपर्छ।
अब कस्तो मोडेल आवश्यक छ ?
मेरो बुझाइमा अब केवल ढलको पाइप थप्ने सोच पर्याप्त छैन। हामीले Separate Sewer System (सिवेज र वर्षा पानीका लागि छुट्टाछुट्टै प्रणाली) तर्फ क्रमशः अघि बढ्नुपर्छ। प्रत्येक घरमा मापदण्डअनुसारको सेप्टिक ट्याङ्की अनिवार्य गर्ने, त्यसबाट निस्कने फोहोरलाई नियमित रूपमा (Vacuum Tanker) मार्फत सङ्कलन गर्ने, आधुनिक (Wastewater Treatment Plant) मा प्रशोधन गर्ने र प्रशोधित पानीलाई उद्योग, कृषि, पार्क तथा अन्य प्रयोजनमा पुनःप्रयोग गर्ने नीति अब विलम्ब नगरी लागू गर्नुपर्छ।

साथै वर्षाको पानी जमिनभित्र पुनर्भरण हुने (Recharge Well, Rain Garden, Permeable Pavement), खुला हरित क्षेत्र तथा वर्षा पानी संकलन प्रणालीलाई भवन निर्माण मापदण्डमै समावेश गर्नुपर्छ। यसमा सरकार मात्र होइन, निजी क्षेत्र, विकास साझेदार, विश्वविद्यालय, प्राविधिक संस्था तथा नागरिक समाजलाई पनि साझेदार बनाउनुपर्छ।
SWOT Analysis: काठमाडौं उपत्यकाको सिवेज तथा वर्षा पानी व्यवस्थापन Strengths (सबल पक्ष)
काठमाडौं उपत्यकाका तीनै जिल्लाबीच भौगोलिक निकटता।
KUKL तथा काठमाडौं उपत्यका Wastewater Management Project जस्ता संरचनाहरूको आधार तयार भइसकेको।
स्थानीय तहमा जनप्रतिनिधिको सक्रिय सहभागिता।
अन्तर्राष्ट्रिय विकास साझेदारको सहयोगको सम्भावना।
Weaknesses (कमजोरी)
वर्षा पानी र सिवेज एउटै प्रणालीमा मिसिने अवस्था। असमान पाइप आकार, पुरानो डिजाइन र अपर्याप्त क्षमता। स्थानीय तहबीच समन्वित गुरुयोजनाको अभाव। सीमित बजेट र मर्मत–सम्भारमा कमजोरी।
Opportunities (अवसर)
- PPP (Public-Private Partnership) मार्फत लगानी।
- आधुनिक Treatment Plant र पानी पुनःप्रयोग।
- Smart Drainage Monitoring System।
- Climate Finance तथा Green Infrastructure को उपयोग।
Threats (चुनौती)
- जलवायु परिवर्तनका कारण तीव्र वर्षा।
- अनियन्त्रित शहरीकरण।
- नदी अतिक्रमण।
- सार्वजनिक स्वास्थ्यमा बढ्दो जोखिम।
- सडक र पूर्वाधारमा बढ्दो क्षति।
निष्कर्ष
काठमाडौं उपत्यकाको भविष्य केवल सडक विस्तारले सुरक्षित हुँदैन। सडकमुनिको अदृश्य पूर्वाधार-सिवेज, ढल र वर्षा पानी व्यवस्थापन-वैज्ञानिक नभएसम्म हामी हरेक वर्ष उस्तै समस्या दोहोर्याइ रहनेछौं।
आज आवश्यकता नयाँ सडकभन्दा पहिले नयाँ सोच को छ। काठमाडौं उपत्यकाका लागि एकीकृत महानगरीय सिवेज तथा स्टर्म वाटर गुरुयोजना निर्माण गरी सङ्घ, प्रदेश, स्थानीय तह र निजी क्षेत्रको साझेदारीमा कार्यान्वयन गर्न सकियो भने मात्र सुरक्षित, स्वच्छ, दिगो र जलवायु-उत्थानशील (Climate Resilient) काठमाडौं उपत्यका निर्माण गर्न सकिनेछ।
विपद् आएपछि राहत दिनेभन्दा विपद्को कारण हटाउने नीति नै दीर्घकालीन समाधान हो। त्यो समाधानको सुरुवात सडकमुनि लुकेको हाम्रो सिवेज र वर्षा पानी व्यवस्थापन प्रणालीको वैज्ञानिक पुनर्संरचनाबाट हुनुपर्छ।






प्रतिक्रिया