काठमाडौं-नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण, अस्पतालमा भएको तोडफोड तथा जिल्ला प्रशासन कार्यालय पर्सामा चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेको छ।
संघका अनुसार साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण भएको थियो। उक्त आक्रमणमा डा. रामको टाउकोमा गम्भीर चोट लागेको तथा अन्य चिकित्सक र स्वास्थ्यकर्मीमाथि पनि आक्रमण भएको संघले जनाएको छ। घटनाका क्रममा अस्पतालमा तोडफोड समेत गरिएको थियो।
संघले घटनामा संलग्न दोषीहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अनुसार कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ। माग सम्बोधन नभएको र चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि राज्य पक्षबाट समेत दमन भएको आरोप लगाउँदै विरोधस्वरूप देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरिएको संघले जनाएको छ। यससँगै आज ओपिडी लगायतका नियमित स्वास्थ्य सेवासमेत प्रभावित भएका छन्।
नेपाल चिकित्सक संघले घटनाबारे छलफल गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा पनि चिकित्सकमाथि दुर्व्यवहार भएको आरोप लगाएको छ। संघका अनुसार प्रमुख जिल्ला अधिकारी भोला दाहालको उपस्थितिमा प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकको निर्देशनमा प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी समिति सदस्य, नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकहरूमाथि गालीगलौज र दुर्व्यवहार गरिएको थियो।
संघले उक्त घटनाको कडा भर्त्सना गर्दै चिकित्सकहरूको मानमर्दन भएको भन्दै प्रमुख जिल्ला अधिकारी भोला दाहाल र प्रहरी उपरीक्षक सुदीपराज पाठकमाथि समेत आवश्यक कारबाही गर्न सरकारसँग माग गरेको छ।
चिकित्सकहरूको सुरक्षा सुनिश्चित गर्दै दोषीमाथि कानुनी कारबाही नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाइने संघले चेतावनी दिएको छ।






प्रतिक्रिया