काठमाडौँ-चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका सबै अस्पताललाई स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध नगर्न निर्देशन दिएको छ। मन्त्रालयले दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढिसकेको जनाउँदै उपचार सेवा नियमित सञ्चालन गर्न आग्रह गरेको हो।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइरहेको मन्त्रालयले जनाएको छ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्यमन्त्री निशा मेहताले घाइते चिकित्सक डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौँ ल्याउने व्यवस्था मिलाउनुका साथै ट्रमा सेन्टर पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्। उनले दोषीमाथि कडा कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिँदै स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन आवश्यक पहल जारी रहेको बताएकी छन्।
मन्त्रालयले स्वास्थ्य सेवा अत्यावश्यक, जीवनरक्षक र संवेदनशील सेवा भएकाले नागरिकको उपचारमा कुनै अवरोध आउन नहुने स्पष्ट पारेको छ। साथै, स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानजनक वातावरणमा सेवा दिन पाउनु उनीहरूको अधिकार भएको उल्लेख गर्दै उपचार सेवामा अवरोध नपुर्याई स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न सबै अस्पताललाई अपिल गरेको छ।







प्रतिक्रिया